close

प्रतिबन्धित प्लाष्टिकका मालाको खुलेयाम कारोबार

प्रतिबन्धित प्लाष्टिकका मालाको खुलेयाम कारोबार

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले केही दिन मात्रै तिहारमा प्लाष्टिकजन्य फूल विक्री वितरणमा प्रतिबन्ध लगाएको थियो । तर, पनि उपत्यकासहित मुलुकभरका मुख्य बजारमा प्लाष्टिकको फूल तथा माला विक्री भएको छ । 

काठमाडौँंको असन, बानेश्वरलगायत मुख्य बजारका पसलमा तिहार लक्षित प्लाष्टिक फूल तथा माला विक्रीमा राखिएका छन् । सरकारले कारोबारमा बिक्री वितरणका लागि रोक लगाए पनि व्यापारीले पहिले नै सो सामग्रीमा लगानी गरिसकेका थिए । 

आफूले लगानी गरेकाले प्लाष्टिकका सामग्री बेचेको व्यापारी बताउँछन् । असनका होलसेल व्यापारी रमेश थापाका अनुसार तिहारको लागि एक महिनाअघि नै प्लाष्टिकको सामग्री ल्याइसकेको थियो । ‘प्लाष्टिकको माला भारतबाट आएको हो । हामीले एक महिना अघिदेखि नै अर्डर गरेका थियौँ,’ उनले भने, ‘सरकारले केही दिन अघि मात्रै बेच्न प्रतिबन्ध गरेको हो ।’ 

उनले आफ्नो होलसेल पसलमार्फत भक्तपुर, काठमाडौँ, ललितपुरलगायत विभिन्न जिल्लाका व्यवसायीले किनेर लैजाने गरेको बताए । सरकारले प्लाष्टिकको फूल आयातमा प्रतिबन्ध गरेपनि सो सामान आइरहेको उनले सुनाए । पछिल्लो समय प्राकृतिक फूलको तुलनामा प्लाष्टिकको फूलको माग बढी भएको उनले बताए । 

उनले प्लाष्टिकको फूल लामो समयसम्म टिक्ने र सस्तो हुने भएकोले बढी बिक्री हुँदै आएका बताए । केही वर्षयता विभिन्न कार्यालय तथा संघसंस्थाले पनि तिहारको सजावटको लागि प्लाष्टिकको फूल प्रयोग गर्दै आएको उनले सुनाए । 

सरकारले तिहार लक्षित गरी सूचना सार्वजनिक गरे पनि आफ्नो लगानी उठाउनका लागि प्लाष्टिकको फूल र माला बिक्रीमा राखिएका श्याम श्रेष्ठले बताए । 
उनले तिहार आउने अगाडि नै सो सामान पसलमा राखिसकेकोले विक्री वितरण गर्न बन्द नगरेको सुनाए । सरकारले सो निर्णय पहिले गरेको भए आफूहरु प्लाष्टिकको फूल र मालाको विकल्प खोज्ने सुनाउँछन् । 

सरकारले प्लाष्टिकजन्य फूल र मालाको कारोबार गर्न रोक लगाएपनि गत वर्षको तुलनामा मूल्य बढेको व्यवसायी बताउँछन् । उनीहरुका अनुसार सामाग्री आयातको लागत बढेकोले नेपाली बजारमा पनि मूल्य बृद्धि भएको हो । 

प्लाष्टिकको फूल र माला तिहारमा मात्रै विक्री हुने भएकोले आफूले पनि पसलमा राखेको भक्तपुरका राजेन्द्र राजथलाले बताए । उनले आफूले भर्खर नयाँ पसल राखेकोले धेरै सामान अर्डर गरेको बताए ।

स्थानीयले माग गरेकोले आफूले असनको होलसेल बजार मार्फत प्लाष्टिकको सामग्री खरिद गरेको उनले पालिकाखबरलाई बताए । ‘भर्खर पसल राखेका छौँ । तर विक्री हुन्छ कि हुँदैन थाहा छैन,’ उनले भने । 

सरकारले प्लाष्टिकको फूल र माला कारोबार गर्न रोक लगाएपनि गत वर्षको तुलनामा मूल्य वृद्धि भएको ग्राहक रमा थापा बताउँछिन् । तिहारको लक्षित सामग्री किन्न असन बजार छिरेका उनी हरेक सामानमा मूल्य वृद्धि भएको सुनाउँछिन् । 

‘प्लाष्टिकको फूल बेच्न र किन्न पाइदैन भनेको थियो । तर मूल्य वृद्धि दोब्बर छ,’ उनले भने, ‘आफूलाई आवश्यक परेकोले महंगो भएपनि सबै सामग्री किनेको छु ।’ 

वातावरण विभागले केही दिन अघि मात्रै प्लाष्टिकजन्य फूल र माला बेच्न प्रतिबन्ध लगाएको थियो । प्लाष्टिकको फूल कारोबार गरेको पाइएमा एक लाखसम्म जरिवाना गर्ने सरकारको निर्णय थियो । 

तर यस विषयमा थप जानकारीको लागि पटकपटक सम्पर्क गर्दा पनि विभागका पदाधिकारीको टेलिफोन उठेन ।