close

बसपार्क निर्माणका लागि वालिङ नगरपालिका र नगर विकास कोषबीच सम्झौता

बसपार्क निर्माणका लागि वालिङ नगरपालिका र नगर विकास कोषबीच सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं– वालिङ नगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर पालिकामा व्यवस्थित बसपार्क निर्माण गर्ने भएको छ । नगर विकास कोषको ऋण तथा अनुदानमा वालिङ बसपार्क आयोजना निर्माण गर्न नगरपालिकाले सोमबार कोषसँग सम्झौता गरेको हो । 

कोषको सहरी पूर्वाधार विकास आयोजनाअन्तर्गत वालिङ नगरपालिकामा व्यवस्थित बसपार्क निर्माण गर्न लागिएको हो । बसपार्क आयोजना निर्माणका लागि ऋण सम्झौतामा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र वालिङ नगरपालिका नगरप्रमुख कृष्ण खाणले हस्ताक्षर गरेका छन् । 

१२ करोड २७ लाख ५७ हजार रुपैँया लागत बसपार्क निर्माणको लागि लाग्ने अनुमान गरिएको छ । अनुमानित लागतको ५५ प्रतिशत अर्थात् ६ करोड ७५ लाख ७५ १६ हजार ३५० रुपैयाँ ऋण र १० प्रतिशत अर्थात् १ करोड २२ लाख ७५ हजार ७०० रुपैयाँको अनुदान नगर विकास कोषले उपलब्ध गराउने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । यस्तै, वालिङ बसपार्क आयोजना निर्माणको कुल अनुमानित लागतको ३५ प्रतिशत अर्थात् ४ करोड २९ लाख ६४ हजार ९५० रुपैयाँ रकम नगरपालिकाले बेहोर्ने छ । 

वालिङ नगरपालिकाको वडा–८ मा करिब ३० रोपनी क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका जिल्लाबाट आवतजावत गरिने सवारी साधनको व्यवस्थापनका लागि महत्वपूर्ण आयोजनाको रुपमा मानिएको छ । 

सम्झौता पत्रमा हस्ताक्षर गर्दै नगरपालिका प्रमुख खाणले यस बसपार्कबाट नगरवासीलाई व्यवस्थित र आधुनिक सेवा सुविधा प्रवाह गर्नुका साथै यस क्षेत्रका जनताको सामाजिक र आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजना गुणस्तरीय रुपमा समयमा सम्पन्न गर्नेतर्फ नगरपालिका प्रतिबद्ध रहेको जनाए। 

यस्तै, कोषका कार्यकारी निर्देशक सापकोटाले आयोजना ऋण सम्झौताको चरणसम्म आइपुग्दा कोषले आयोजनालाई गुणस्तरीय बनाउन आयोजनाको तयारी तथा विकासको चरणदेखि नै नगरपालिकासँग सहकार्य भएको बताउँदै आयोजनालाई गुणस्तरीय रुपमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गरे । 

सम्झौता कार्यक्रमा नगर विकास कोषका तर्फबाट नगर विकास कोष सञ्चालक समितिका सदस्य हिक्मतजंग कार्की तथा कोषका पदाधिकारी र नगरपालिका उपप्रमुख कविता गैरे, वडा–१ अध्यक्ष पदम गुरुङ,  वडा–१० अध्यक्ष सुनिल खनाल र वालिङ नगरपालिकाका इन्जिनियर धु्रव रेग्मीको उपस्थिति थियो ।