close

इच्छाकामनाका किसान भन्छन्, ''खसीबोकाको मूल्य नै पाइएन''

इच्छाकामनाका किसान भन्छन्, ''खसीबोकाको मूल्य नै पाइएन''

Trulli
ADVERTISEMENT

चितवन- इच्छाकामना गाउँपालिकाका किसानले आफूले पालेका खसीबोका नारायणगढ बजारमा बिक्री गरे पनि मूल्य नपाएको दुखेसो पोखेका छन् । 

इच्छाकामना गाउँपालिका–६ कोयलघारीका निरबहादुर गुरुङले नारायणगढ बजारमा खसीबोका बिक्री गरेको बताए । “दुई दिनसम्म नारायणगढमा खसी बेच्न गएँ । मूल्य नै पाइँदैन”, उनले भने, “केजीको पाँच सय रुपैयाँमा पनि बिक्री हुन गाह्रो भयो ।” उनले गाउँबाट ३३ किलोमिटर दूरीमा रहेको नारायणगढ बजारमा ल्याएर खसीबोका बिक्री गरेका हुन् । 

यसअघि गाउँको सहकारीले घरमै आएर खसीबोका खरिद गर्दथ्यो । यस वर्ष खरिद गरेका छैनन् । त्यसकारण पनि किसानले बजार झरेर खसीबोका बेच्नु परेको इच्छाकामना–६ कोयलघारीकी च्यन्टी मायाँले भनिन् ।  “खोरमा २० बाख्रा छन् । चार वटा २० हजारमा बेचियो”, उनले भनिन्, “अरु खसी बजार लगेर बेच्ने तयारीमा छु ।” 

कोयलघारीकै डोपबहादुर गुरुङलाई विगतको वर्षजस्तै यस वर्ष दसैँ खर्चको जोहो गर्न समस्या भएन । उनले घरमा पालेका खसीबोकाले दसैँ खर्च टर्ने भएको छ । घरमा पालेका १०  खसीबोका बिक्री गरेर यसपालिको दसैँ खर्चको जोहो गरिसकेको उनले बताए । खसीबोका बिक्रीबाट गुरुङले दशैँमा करिब ९० हजार रुपैयाँ आर्जन गरेका छन् । उनले पाँच दिन अगाडि खसीबोका बिक्री गरेका हुन् । “यहाँबाट धेरैले बजार लगेर पनि बेच्छन् । बजारमा तानातान गर्नुभन्दा घरमै आएका बेला व्यापारीलाई हचुवामा बेचेँ”, उनले भने । 

कोयलघारीकी वीरमाया गुरुङ पनि नारायणगढ खसी लगेर बेच्ने तयारीमा छिन् । यसपटक दसैँ खर्च जोहो गर्न चार खसी बेच्ने उनले बताइन् । “३० बाख्रा छन् । चार वटा पाठा बेच्न नारायणघाट जाने हो”, उनले भनिन्, “छोराछोरीलाई लुगाफाटा ल्याउने नै यी पाठा बेचर हो ।” प्रत्येक वर्ष खसीबोका बेचर दसैँ मनाउने गरेको उनले सुनाइन् । खानीगाउँ र कुलयघारीमा १०८ घरधुरी छन् । अधिकांशको घरमा कम्तीमा २०  बाख्रा छन् । 

अघिल्लो वर्ष यहाँका किसानले खसीबोका प्रतिकिलो ६०० रुपैयाँसम्म मूल्य पारेका थिए । अहिले उत्पादन बढी र आर्थिक मन्दीका कारण खपत कम हुँदा मासुको मूल्य घटेको इच्छाकामना गाउँपालिकाका पशु शाखा प्रमुख डा सुनील ज्ञवाली बताए । पहिले बेच्दै आएका कृषक समूह र सहकारीले पनि बेच्नुभएको छैन”, उनले भने, “उत्पादन धेरै भएपछि पाँच सय रुपैयाँमा पनि किसानले बेच्ने गर्नुभएको छ ।” 

अहिले बजारमा काटेर ठिक्क पारेका खसीको मासु एक हजार २०० मा बिक्री भइरहेको छ । इच्छाकामना गाउँपालिकामा चार हजारको हाराहारीमा बाख्रा रहेको तथ्याङ्क छ । दसैँमा खसीबोकाको कारोबार भने यकीन नभएको उनले भने ।