close

देवघाटबाट ३ करोडको सुन्तला निर्यात

देवघाटबाट ३ करोडको सुन्तला निर्यात

Trulli
ADVERTISEMENT

तनहुँ- देवघाट सुन्तला उत्पादनको पकेट क्षेत्र हो । यहाँ उत्पादित करोडौँको सुन्तला बाटो अभावका कारण बजारसम्म पुर्‍याउन सकस हुने गरेको छ । 

अहिलेको समयमा यहाँको मुख्य उत्पादन भनेकै सुन्तला रहेको स्थानीय बताउँछन् । देवघाट गाउँपालिकाका विभिन्न वडामा यस वर्ष करोडौँको सुन्तला उत्पादन भएको छ । देवघाट सुन्तला उत्पादनका लागि नेपालकै प्रख्यात ठाउँ भए पनि यहाँका ग्रामीण क्षेत्रमा पूर्वाधार विकास नहुँदा उत्पादित सुन्तला बजारसम्म पुर्‍याउन नै गाह्रो हुने गरेको स्थानीयको भनाइ थियो ।

यहाँ उत्पादित सुन्तला सिधैँ काठमाडौँको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा लग्ने गरिएको देवघाट–३ छापस्वरा लुम्रिङका किसान कर्णसिंह रानाले बताए । त्यहाँ देवघाटको सुन्तला नेपालकै उत्कृष्ट मान्दै कारोबार हुने गरेको उनले अनुभव सुनाए । रानाले लामो समयदेखि सुन्तलाखेती गर्दै आउनुभएको छ । 

१३ वर्षदेखि सुन्तालाखेती गर्दै आएका रानाले भने, “हामीले यहाँ उत्पादन गरेका सुन्तला रोपवे (तुइन) र घुमाउरो बाटोको सहायता लिएर बजारसम्म पुर्‍याउने गरेका छौँ । बाटो अभाव र जटिलताका कारण यहाँ उत्पादित सुन्तला बजारसम्म पुर्‍याउँदा दोब्बर भाडा तिर्नुपर्छ ।” विकट गाउँ भए पनि लुम्रिङबाट मात्रै करिब तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको उनले जानकारी दिए । 

“यहाँबाट उत्पादित सुन्तला सिधैँ काठमाडौँ पठाउछौँ । यहाँ उत्पादित सुन्तलाको माग उच्च भए पनि रोपवे र घुमाउरो बाटोका कारण ढुवानीमा निकै सास्ती हुने गरेको छ”, रानाले भने, “उत्पादन राम्रो भएकाले गाउँमा बस्ने वातावरण भने बनाएको छ ।”

देवघाट–३ का सुग्रिड, छिपछिपे, छापस्वरा, दगरा, लुम्रिङमा अन्य स्थानमा भन्दाबढी सुन्तला उत्पादन हुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवं सुन्तला कृषक भीमबहादुर रानाले जानकारी दिए । उनका अनुसार यस वर्ष लुम्रिङ गाउँबाट मात्रै तीन करोडभन्दा बढीको सुन्तला निर्यात भएको छ । अन्य अन्नबाली उत्पादन कम भए पनि सुन्तलाले गाउँको पहिचान बनाएको उनको भनाइ थियो ।

स्थानीय किसान व्यावसायिक सुन्तालाखेती गर्न थालेपछि गाउँमा युवापुस्ताको उपस्थिति देखिन थालेको भीमबहादुरले बताए । उनले भने, “अन्य अन्नबाली उत्पादन नभएका यहाँका किसानमा पछिल्लो समय सुन्तला उत्पादन बढेपछि केही वर्ष यता आशा पलाएको छ ।” छिपछिपे, छापस्वरा, लुम्रिङ, दगरा, गाईघाटलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेतो नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान निकै सास्ती हुने गरेको किसान भीमबहादुरले बताए । 

किसान नवराज गुरुङले सुन्तला बेचेरै यहाँका केही किसान लखपती बनेका बताए । वार्षिक करोडौँको उत्पादन भए पनि उक्त सुन्तलालाई बजारसम्म लैजान भने समस्या हुने गरेको किसान बताउँछन् । नदी पारी रहेको सडकसम्म सुन्तला पुर्‍याउनै सकस हुने कृषक कृष्णबहादुर गुरुङले बताए ।