close

धुर्कोट गाउँपालिकाको एउटै बगानमा ६ लाखको सुन्तला

धुर्कोट गाउँपालिकाको एउटै बगानमा ६ लाखको सुन्तला

Trulli
ADVERTISEMENT

गुल्मी- धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ५४ वर्षीय टीकाबहादुर हमालले विगत ३३ वर्षदेखि सुन्तलाखेती गर्दै आएका छन् । 
सुन्तलाखेतीबाटै उनले वार्षिक लाखौँको आम्दानी गर्दै आएका छन् । 

“पोहोर साल आठ लाखको बिक्री भयो”, हमालले भने, “यस वर्ष उत्पादन अलि घटेकाले ६ लाखको सुन्तला बिक्री भयो ।” सुन्तला लिन घरमै व्यापारी आउने गरेका छन् । अहिले उनले प्रतिकिलो ६५ देखि ७० मा सुन्तला बिक्री गरेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको प्रतिस्पर्धा भए पनि हमाल भने घरमै बसेर मनग्य आम्दानी गरिरहेका छन् । “यो पुर्ख्यौंली पेसा हो, मैले व्यावसायीकरण गरेको मात्र हुँ”, उनले भने । 

उनले कूल १२ रोपनी जग्गामा सुन्तलाखेती गर्दै आएका छन् । अहिले २५ हजार बोटमा सुन्तला उत्पादन भइरहेको उनले बताए । थप ४० हजार बिरुवा नर्सरीमा छन् । केही वर्षपछि ती बिरुवाले पनि उत्पादन दिँदा आम्दानी झनै बढ्ने हमाल बताउछन् । सुन्तला बिक्रीको रकम घरखर्च चलाएर पनि बचत हुने गरेको हमाल बताउछन् । 

नयाँगाउँकै कमला पोखरेलले पनि यस वर्ष सबै सुन्तला घरबाटै प्रतिकिलो ६५ मा बिक्री गरे । गत वर्ष ८० हजारको सुन्तला बिक्री गरेकी उहाँले यस वर्ष पनि सोही रकमकै हाराहारीमा बिक्री गरेको बताइन् । सुन्तला लिन व्यापारी घरमै आउने भएकाले बजारको कुनै समस्या छैन । 

“बारीमा ३०० बोट छन्, केही साना बिरुवा पनि छन्”, उनले भनिन्, “सुन्तला बिक्रीको रकमबाट घरमा चाहिने दैनिक उपभोग्य सामग्री किन्न सहयोग भएको छ ।” पोखरेल र हमाल त सुन्तला बिक्री गर्ने केही प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरुजस्तै धेरैले सुन्तला बिक्री गरेका छन् ।