close

नेपालगञ्जको आन्तरिक आय १० करोड २७ लाख

नेपालगञ्जको आन्तरिक आय १० करोड २७ लाख

Trulli
ADVERTISEMENT

बाँके- नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १४औँ अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले शनिबार नगरसभाको ‘एजेण्डा’ प्रस्तुत गर्दै नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक वर्षको स्वीकृत योजना, कार्यक्रम र बजेटमा रकमान्तर स्वीकृति, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा सञ्चालन हुने थप योजना स्वीकृति, फोहरमैला व्यवस्थापनका लागि सार्वजनिक, निजी साझेदारीमार्फत कार्यान्वयन सम्बन्धमा स्वीकृति र नगरक्षेत्रमा सुर्तीजन्य पदार्थको नियमन सम्बन्धमा स्वीकृतिका लागि प्रस्ताव पेस गरेका थिए । 

प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित गरिएको सभा सचिव प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले बताए । अधिवेशनको खुला छलफलमा नगरसभा सदस्यहरु राजकुमार साहु, दीपककुमार वर्मा, गोपाल पुन, कौशलकुमार धोबी र मनोजकुमार श्रेष्ठ, नन्दकिशोर कश्यप, सराफत खाँ, चक्रबहादुर बुढा, दिग्विजय ढुङ्गाना, अरुणकुमार मिश्र र विनोदकुमार रस्तोगीले बोलेका थिए । 

नगरसभामा २३ वटै वडाका वडाध्यक्ष, नगरकार्यपालिका सदस्य, २३ वटै वडाका वडा सदस्य, नेपालगञ्ज उपमहानगरपालिकाका सम्पूर्ण शाखा तथा महाशाखाका प्रमुख एवं कर्मचारीको सहाभगिता रहेको थियो । 

नगरसभामा नगरको अर्धवार्षिक प्रगतिको समीक्षा पनि गरिएको थियो । उपमहानगरपालिकाले चालू आवको हालसम्म ५४ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको जनाएको छ । अधिवेशनमा प्रस्तुत प्रगति विवरणमा आन्तरिक राजस्वतर्फ १९ करोड अनुमानित आय रहेकामा हालसम्म १० करोड २७ लाख ४१ हजार सङ्कलन भएको  उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले बताए । 

उपप्रमुख कमरुद्दिनकाअनुसार उपमहानगरपालिकाको आवमा चालूतर्फ ३२.७ प्रतिशत, पुँजीगततर्फ १३.४२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४३.८१ प्रतिशत वित्तीय प्रगति भएको छ ।