close

एउटै वडामा ११ करोडको सुन्तला

एउटै वडामा ११ करोडको सुन्तला

Trulli
ADVERTISEMENT

स्याङ्जा- भिरकोट नगरपालिका–७ मा यस वर्ष ११ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ । भिरकोट –७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यसवर्ष सुन्तला बिक्रीबाट ११ करोड भित्रिएको बताए । 

करिब १०० घरपरिवारले व्यावसायिकरूपमा सुन्तला उत्पादन गर्दै आइरहेका उनले जानकारी दिए “यस वडाका अधिकांश किसान व्यावसायिकरूपमा सुन्तलाखेतीमा आबद्ध हुनुहुन्छ”, अध्यक्ष अर्यालले भने, “यहाँ यस वर्ष सबैभन्दा थोरैमा ५० हजारदेखि लिएर धेरैमा ३० लाखसम्म आम्दानी गर्नुभएको छ ।”

तिहारका बेलादेखि सुन्तला बजार पठाउन सुरु गरेर माघको दोस्रो सातासम्म सबै बिक्री गरिसक्ने अध्यक्ष अर्यालले जानकारी दिए । सुरुमा प्रतिकेजी ४० मा बिक्री गरेको सुन्तला अन्तिममा आइपुग्दा प्रतिकेजी ७० का दरले बिक्री भएको जनाइएको छ । स्थानीय व्यापारी तथा काठमाडौँबाट आएका व्यापारीले बगैँचा नै ठेक्का लिएर बिक्री गर्ने गरेका छन् । कतिपय किसानले चिनजान र फोन सम्पर्कका आधारमा गाडीबाट व्यापारीकहाँ पठाइदिने गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन र भिरकोट नगरपालिकाको ७५ प्रतिशत अनुदानमा बिरुवा, सिँचाइ ट्याङ्की, पाइप वितरण गरिएको अध्यक्ष अर्यालले बताए । सुन्तलाखेतीबाट आम्दानी लिन सकिने भएपछि यहाँका स्थानीयले कोदो खेति त्यागेर सुन्तलाखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।