close

नगरपालिका स्वयंले बालुवा गिट्टी बेच्दा पौने ३ करोड आम्दानी

नगरपालिका स्वयंले बालुवा गिट्टी बेच्दा पौने ३ करोड आम्दानी

Trulli
ADVERTISEMENT

स्याङ्जा– भीरकोट नगरपालिकाले आन्तरिक आय वृद्धिका लागि नदीजन्य पदार्थको उत्खनन् गर्दै आएको छ । नगरपालिकाले गत आर्थिक वर्षबाट  प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) प्रतिवेदन तयार गरी नदीजन्य पदार्थ उत्खननको सुरुवात गरेको हो । 

नगरपालिकाकाे सबैभन्दा ठूलो खोला 'आँधी खोला' हो । सोही खोलाबाट आइइई प्रतिवेदन अनुसार नगरपालिकाले नदीजन्य सामाग्री उत्खनन् तथा ढुङ्गा, गिट्टी, बालुवा तयार गरी बिक्री वितरण गर्दै आएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । 

नगरपालिकाले स्थानीय सरकार सञ्चालन २०७४ को दफा ११ ले दिएको गाउँपालिका तथा नगरपालिकाको अधिकार अनुसार बालुवा, चिप्स र गिट्टी तयार गरेको हो । सो दफाको उपदफा २ प(७) ले ढुङ्गा गिट्टी, बालुवा, नुन, माटो, खरी ढुङ्गा तथा स्लेट जस्ता खानीजन्यवस्तु सर्वेक्षण उत्खनन तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्था गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।

आँधी खोला नदीको करिब सात किलोमिटर लम्बाइको क्षेत्रफलमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले बताए । गत आवमा नगरपालिकाले सो क्षेत्रलाई तीन भागमा विभाजन गरेर उत्खनन गरेको उनकाे भनाइ छ। 

यस्तै चालु आर्थिक वर्षमा नगरपालिकाले हेलुदेखि लामा चौकसम्म, सिसौघारीदेखि थानसाङग्रीसम्मको भागको लागि ठेक्का आह्वान गरेको छ । सोभन्दा बीचको स्थानमा भने नगरपालिकाले खोलाको नियन्त्रण गरेको छ । त्यहाँको नदीजन्य सामाग्री नगरपालिकाले फिल्टर गरेर बिक्रीसमेत गर्दै आएको छ । 

आइइईको प्रतिवेदनअनुसार उत्खनन् गर्न मिल्ने नदीजन्य सामाग्रीलाई निकालेर नगरपालिकाले ग्रिज स्टाण्डिङ भाइब्रेटर मेसिनमार्फत फिल्टर गर्दै आएको उनले बताए । यसरी फिल्टर गरेर गिट्टी, बालुवा छान्ने गरिन्छ । गिट्टी र बालुवाबाहेक ९० प्रतिशत वेस्टेज मटेरियल निस्कने हुन्छ । सो मध्ये बिक्री गर्न मिल्ने ढुंगा बेच्ने र बाँकी त्यहीँ छाडिन्छ । 

पूर्वाधार निर्माणमा पालिकाकै सामान प्रयोग गर्नुपर्ने

भीरकोट नगरपालिकाभित्रका पूर्वाधार निर्माणमा आवश्यक पर्ने गिट्टी बालुवा नगरपालिकाको नै प्रयोग गर्नुपर्ने नगरपालिकाले नियम राखेको नगरप्रमुख  गोविन्दकुमार कर्माचार्यले बताए । सोसम्बन्धी नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा व्यवस्थासमेत गरेको छ । 

पालिकाभित्रका सार्वजनिक क्षेत्रमा पूर्वाधार विकास गर्न पालिकामा नै उत्पादन भएका नदीजन्य पदार्थको अनिवार्य प्रयोग गर्नुपर्ने नीति तथा कार्यक्रममा उल्लेख  छ । तर, नगरपालिकाले उत्पादन र सामाग्रीको आवश्यकता बीचको दूरी नहेरीकन नीतिमा राख्दा समस्या आएको प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले बताए । 

एक लाखभन्दा बढी बजेटका आयोजना सञ्चालन गर्दा नगरपालिकाको सामाग्री लगेर गर्नुपर्ने नगरपालिकाले व्यवस्था गरेको थियो । गिट्टी र बालुवा प्रशोधन पालिकाको केन्द्रमा हुने र टाढा रहेका वडाका उपभोक्ता समितिलाई सानो आयोजनाको लागि गिट्टी बालुवा लैजादा महँगो परेको उनले सुनाए । 

‘एक लाखको आयोजनामा तीन चार टिप गिट्टी र त्यतिकै बालुवा चाहिन्छ । टाढा भएकाले ढुवानी खर्च पनि दोब्बर पर्छ ।’ टाढाका वडाका उपभोक्ता समितिलाई छिमेकी पालिकाबाट गिट्टी बालुवा लान सहज भएको र नगरपालिकाले पनि माग अनुसार सामाग्री उपलब्ध गराउन नसकेको उनले बताए । 

त्यसैले नगरपालिकाले हिउँदे अधिवेशनबाट सो नियमलाई हटाइएको उनले जानकारी दिए । हिउँदे अधिवेशनमार्फत टेण्डरमार्फत निर्माण गरिने पूर्वाधार र पाँच लाख रुपैयाँ भन्दा ठूला योजना सञ्चालन गर्दा नगरपालिकाको सामाग्री पनि खरिद गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए ।  

नदीजन्य सामग्रीबाट करिब तीन करोड आम्दानी

ग्रिज स्टाण्डिङ भाइब्रेटर मेसिनमार्फत तयार गरेको गिट्टी बालुवा खरिद गर्न आउनेलाई नगरपालिकाले दैनिक रुपमा बिक्री गर्दै आएको छ । गिट्टी खोलामा रहेको आकारमा नै रहने भएकाले सबै खालका पूर्वाधार निर्माणमा प्रयोग गर्न नमिल्ने उनले जानकारी दिए ।

तर, नगरपालिकाले प्रशाेधन गरेको बालुवा खरिद गर्न भने अग्रिम बुकिङ हुने गरेको प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले जानकारी दिए । उनले भने, ‘खरिद गरेर लगिसकेपछि छान्न नपर्ने भएकाले बालुवा किन्नको लागि उहाँहरु लाइन नै बस्नुहुन्छ ।’

गत वर्ष नदीजन्य पदार्थबाट करिब तीन करोड आम्दानी गरेको छ । ठेक्काबाट ५० लाख रुपैयाँ आम्दानी भएको नगरप्रमुख कर्माचार्यले बताए । यस्तै नगरपालिकाले गिट्टी बालुवा बिक्री गरेर गत आर्थिक वर्ष २०७९/८० मा दुई करोड ३० लाख २७ हजार ९१३ रुपैयाँ संकलन गरेको छ । 

चालु आर्थिक वर्षको लागि समेत नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन्को लागि बोलपत्र आह्वान गरेको छ । गत पुष १९ गते नगरपालिकाले बोलपत्र आह्वान गरेर नगरपालिकाले दुई स्थानमा नदीजन्य पदार्थको लागि बोलपत्र आह्वान गरेको हो । तर हालसम्म कसैले पनि टेण्डर नहालेको उनले सुनाए । आइइईको प्रतिवेदन अनुसारको मात्रामा खोलामा नदीजन्य सामाग्री नरहेकाले यस वर्ष ठेक्का पर्ने सम्भावना कम रहेको उनको भनाइ छ । 

उत्खनन गरेको क्षेत्रमा तटबन्ध गर्दै

नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन् गरिरहँदा आँधी खोलाले निम्त्याउन सक्ने जोखिमबारे पनि सजग रहन आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत ढुङ्गाना बताउँछन् । आँधी खोलाको आसपासको क्षेत्र नगरपालिकाको सबैभन्दा धेरै खेती हुने जमिन हो । खोलामा पानीको सतह घट्दै गएकाले सो चिन्ताको विषय बनेको उनले बताए । 

नदीजन्य पदार्थ उत्खनन गरेको क्षेत्रमा तटबन्ध गर्ने तयारी भने नगरपालिकाले गरेको उनले पालिकाखबरसँग बताए । उनले भने, ‘संघीय, प्रदेश र स्थानीय सरकारमार्फत बहुवर्षिय योजना अन्तर्गत टेण्डर जारी गरेर सम्झौता भइसकेको छ । खोलाको ७ किलोमिटर क्षेत्रको दायाँ र बायाँ क्षेत्रमा नै तटबन्ध गर्ने सम्झौता भएको छ ।’ तीन वर्षभित्र नदीजन्य पदार्थ उत्खनन गरेका क्षेत्रमा तटबन्ध गरिसक्ने सम्झौता भएको उनले जानकारी दिए ।