close

ओखलढुंगाका सबै स्थानीय तहका सामुदायिक विद्यालय खुले, स्वास्थ्य सावधानी अपनाएर पठनपाठन

ओखलढुंगाका सबै स्थानीय तहका सामुदायिक विद्यालय खुले, स्वास्थ्य सावधानी अपनाएर पठनपाठन

Trulli
ADVERTISEMENT

ओखलढुंगा- कोरोना महामारीका कारण बन्द भएका ओखलढुंगाका सामुदायिक विद्यालयमा पठनपाठन सुचारु भएको छ । ओखलढुंगाका सबै स्थानीय तहले कक्षा ११ र १२ को परीक्षा सम्पन्न गरेर नियमित पठनपाठन सुरु गरेका हुन् । 

 

जिल्लाका आठ स्थानीय तहका ३३२ सामुदायिक विद्यालयमा अहिले पठनपाठन चलिरहेको छ ।क्वारेन्टाइन तथा होल्डिङ सेन्टर हटाएर र विद्यालयलाई निःसंक्रमित गरेर पठनपाठन सुरु भएको मानेभञ्ज्याङको हर्कपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक ठाकुर अधिकारीले जानकारी दिए । 

 

‘कक्षा ११ र १२ को परीक्षा सम्पन्न गरेर नियमित कक्षा संंचालन भइरहेका छन्’, उनले भने । यो विद्यालयमा ओखलढुंगा, खोटाङ र सोलुखुम्बूको होल्डिङ सेन्टर राखिएको थियो । 

 

विद्यालयले कक्षा ४ सम्म नियमित रूपमा तथा कक्षा ५ देखि १० सम्म धेरै संख्यामा विद्यार्थी भएकाले जोर बार जोर नम्बर  र बिजोर बार बिजोर रोल नम्बर हुने विद्यार्थी बोलाएर कक्षा नियमित गरेको हो । अन्य स्थानका धेरै विद्यार्थी संख्या हुने विद्यालयले पनि यही प्रणाली अपनाएर कक्षा संंचालन गरेका छन् । 

 

जिल्लामा सबैभन्दा पहिले चिशंखुगढी गाउँपालिकाले कक्षा संंचालन गरेको थियो । त्यसपछि लिखु, सिद्धिचरण नगरपालिका, खिजीदेम्बा गाउँपालिका, चम्पादेवी, सुनकोसी मानेभञ्ज्याङ र मोलुङले कक्षा सुचारु गरेका हुन् ।

 

मोलुङ गाउँपालिकाले कक्षा ११ र १२ संंचालन भएका विद्यालयमा बिहीबारदेेेखि नियमित कक्षा सुरु गरेको छ । कक्षा १० सम्मका अन्य विद्यालयमा एक साता पहिलेदेखि नै पढाइ सुरु भएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले बताए ।

 

कोरोना संक्रमण जोखिम भए पनि विकल्प नभएकाले सुरक्षा मापदण्ड अनिवार्य गरिएको विद्यालयहरूले जनाएका छन् । हात धुने, मास्क लगाउने तथा सकेसम्म स्यानिटाइजर प्रयोग गरेर विद्यालयमा पठनपाठन गरिएको मोलुङ वडा- ७ को जेसे माविमा शिक्षक अर्पण सुनुवार बताउँछन् ।