close

बागलुङले बनायो प्रारम्भिक पाठ्यक्रमको खाका

बागलुङले बनायो प्रारम्भिक पाठ्यक्रमको खाका

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणलाई तीव्रता दिएको छ । पाठ्यक्रमलाई उत्कृष्ट बनाएर कक्षा ८ सम्म लागू गर्ने तयारी गरेको शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले बताए । 

 

नगरपालिकाले पाठ्यक्रम निर्माणका लागि विज्ञ समूहलाई जिम्मा दिएको छ । त्यसबाहेक सबै सरोकारवालालाई लिखित सुझाव दिनसमेत आग्रह गरिएको छ ।
यसरी आउने सुझावलाई उच्च महत्त्वका साथ पाठ्यक्रममा समावेश गरिने नगरप्रमुख जनकराज पौडेलले बताए । 

 

नगरपालिकाको शिक्षा शाखा र मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौताको सैद्धान्तिक खण्डको समीक्षा तथा सुझाव संकलन कार्यक्रममा नगरप्रमुख पौडेलले प्रविधिसहितको उत्पादनलाई शिक्षामा जोड्ने लक्ष राखिएको जानकारी दिए ।

 

त्यसका लागि नगरपालिकाले पहिलो चरणमा पाठ्यक्रमको खाका बनाएको हो । उक्त खाका दिएपछि शिक्षकले स्थानीय विद्यालयमै बसेर पढाउन सक्ने अवस्था बन्नेछ ।

 

प्रारम्भिक खाकामा कक्षा १ देखि ८ सम्मका विद्यार्थीले हरेक कक्षामा कम्तीमा ११ वटा विषयमा अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । त्यसमा तहगत सक्षमता, कक्षागत सिकाइ उपलब्धि तथा विषयवस्तुको क्षेत्र र क्रमसमेत राखिएको छ ।

 

पोखरेलको प्रस्तुतिअनुसार सबै कक्षामा १ वटा तहगत सक्षमता समावेश गरिएको छ । तीमध्ये पहिलो नम्बरमा बागलुङ नगरपालिका र यसको आसपास क्षेत्रको परिचयात्मक खण्ड हुनेछ । 

 

त्यसपछि क्रमशः स्थानीय कला, संस्कृति, चाडपर्व, महोत्सवको संरक्षण र संवद्र्धन, स्थानीय पर्यटकीय स्थलको पहिचान, संरक्षण र संवद्र्धन, स्थानीय कृषिसम्बन्धी अवधारणा, ज्ञान र सीपको प्रयोग तथा स्थानीय पेसा, व्यवसाय र प्रविधिको आवश्यकता, पहिचानसम्बन्धी पाठ्यक्रम बन्नेछ ।

 

त्यस्तै, जडीबुटी र उपचार विधि, स्थानीय खेल, स्वास्थ्य जीवन, प्राकृतिक सम्पदा, स्थानीय विपद् र यसका प्रकार, नैतिक मूल्य मान्यता, सदाचारको दैनिक जीवनमा अनुसरण गर्ने तरिका तथा सूचना प्रविधि र जीवनमा यसको प्रयोगजस्ता विषय समावेश छन् । 

 

ती विषय अध्ययन गरेपछि विद्यार्थीमा के परिवर्तन आउनुपर्छ भन्ने देखिनुपर्छ भन्छन्, पोखरेल । ‘पहिलो विषय पढिसकेपछि कक्षा १ का बालबालिकाले आफू बसेको ठाउँ, टोल, वडा र नगरपालिकाको नाम बताउन सक्नेछन्,’ पोखरेलले भने, ‘यो उपलब्धि नै मूल्यांकनको आधार बन्नेछ ।’

 

मूल्यांकन गर्दा विद्यार्थी फेल हुने विधि अपनाउन पाइने छैन । १ देखि ३ नम्बर पाउने व्यवस्थासहित कम्तीमा ४८ अंकदेखि ९९ अंकसम्म ल्याउन सक्ने गरी मूल्यांकन विधिको व्यवस्था हुने उनले बताए । 

 

सबै कक्षाका लागि विषय खण्ड एउटै हुनेछ । तर, हरेक कक्षा बढ्दै जाँदा बालबालिकाको सिकाइको क्षमता भने बढेर जानेछ । कक्षा ८ मा पुग्दा परिचय खण्ड पढेर विद्यार्थीले बागलुङ नगरपालिकाको कार्यालयबाट प्राप्त हुने सेवा–सुविधा बताउन सक्नेछन् ।

 

नगरपालिकाको जनसंख्या व्यवस्थापनका उपाय सूचीकरणसमेत गर्न सक्ने बताइएको छ । पर्यटनतर्फ कक्षा १ मा घरको करेसाबारी घुम्नेदेखि विद्यालयसम्मको घुमाइ पढ्ने बालबालिकाले कक्षा ८ मा पुग्दा पर्यटन व्यवसायका लागि आवश्यक आधारभूत सीप र व्यवस्थापकीय कार्यको सूचीकरण गर्न सक्ने पाठ्यक्रममा उल्लेख छ । 

 

चालू शैक्षिक वर्षको असोज मसान्तसम्म कम्तीमा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम छपाइ गरिसक्ने गरी शाखाले विज्ञ समूह बनाएर लेखनका लागि लगाउने पोखरेलले जानकारी दिए । 

 

प्रारम्भिक मस्यौदाका लागि भने पोखरेलको संयोजकत्वमा पूर्वप्रअ टीकाराम सापकोटा, पूर्वस्रोतव्यक्ति उमानाथ शर्मा, सिगाना मावि तित्याङका प्रअ गोपालकुमार शर्मा, जनताधन माविका प्रअ कुमार पौडेल, कालिका कन्या माविकी शिक्षक हुमा रिजाल र संस्थागततर्फ आदर्श आवासीय माविका अध्यक्ष महेशचन्द्र प्रधान सदस्य रहेको समिति बनेको थियो । 

 

उक्त समितिले तयार पारेको खाकालाई पाठ्यपुस्तकमा उतार्न फेरि थप विज्ञ समावेश गरिने बताइएको छ । एकीकृत पाठ्यपुस्तकमार्फत कम्तीमा गणित, सामाजिक, नेपाली र अंग्रेजीको ज्ञान दिने गरी पाठ्यक्रम बन्ने बताइएको छ । 

 

सुझाव दिने कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले सैद्धान्तिक र मूल्यांकनको आधारसमेत दिएकाले अब किताब नभएपछि शिक्षकले आफ्नो क्षेत्रअनुसार पढाउन सक्ने बताए । 

 

नगरपालिकाको सामाजिक विकास समितिका अध्यक्ष गणेशबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक डा. डिनबहादुर थापा, प्राध्यापक संघका अध्यक्ष विजयराज पन्त, विद्यामन्दिर माविका प्रअ शान्तमणि ढकाल, शिक्षकहरू मधुसूदन शर्मा, छविरमण रेग्मी, रेशम श्रीष, थानेन्द्र गौतम, डिल्लीराज गौतम, अपांगता भएकाबाट कुमार पुन, धर्म आचार्य, विमल शर्मा, नेविसंघका सचिव श्रीकृष्ण पौडेल र अखिल क्रान्तिकारीका प्रवीण सापकोटाले सुझाव दिएका थिए ।