close

‘पुस्तक छैन, कसरी पढ्नु ?’

‘पुस्तक छैन, कसरी पढ्नु ?’

Trulli
ADVERTISEMENT

म्याग्दी ।  नयाँ शैक्षिकसत्र सुरु भए पनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।     
     
नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको हो । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । पाठ्यक्रम यथावत भएका अन्य कक्षाका विद्यार्थीले पुराना पुस्तक पढ्ने गरेका छन् ।     
     
बेनी नगरपालिका–८ कालीपुलको बालमन्दिर आधारभूत विद्यालयको कक्षा ७ का विद्यार्थी सुरेन्द्र परियारले पुस्तक नहुँदा शिक्षकलाई पढाउन, आफूहरूलाई बुझ्न र गृहकार्य गर्न समस्या भएको बताए । 


पाठ्यक्रम नफेरिएका कक्षाका विद्यार्थीलाई पुराना पुस्तक उपलब्ध गराइएको छ । उपल्लो कक्षामा गएका विद्यार्थीलाई यसअघि उनीहरूले प्रयोग गरेको पुस्तक फिर्ता मागेर उपलब्ध गराएका हुन् । गाता नभएका, केरमेट भएका र च्यातिएका पुराना पुस्तक पढ्न असजिलो भएको विद्यार्थी इन्द्रबहादुर भण्डारीले बताए ।     
     
२३२ सामुदायिक विद्यालय भएको म्याग्दीमा एउटा कक्षाका लागि एक हजार ७०० देखि दुई हजार सेट पुस्तक आवश्यक पर्छ । पुस्तक खरिदका लागि म्याग्दीमा वार्षिक एक करोड १२ लाखभन्दा बढी बजेट खर्च हुन्छ । 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष लीलाराम गौतमले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कागज अभावको कारण देखाएर पुस्तक छाप्न ढिलाइ गरेको जानकारी दिए ।     
       
     
पुस्तक व्यवसायी तथा वितरकहरूका अनुसार निजी विद्यालयको कक्षा ४, ७ र ९ को पनि पूरा पुस्तक आएको छैन । यसअघिका वर्षमा शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हात–हातमा पुस्तक उपलब्ध गराइँदै आएको थियो । 

म्याग्दीका पुस्तक व्यवसायीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट ल्याएको पुस्तक बेनीमा बिक्री केन्द्र राखेर विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् ।