close

३५ हजार विद्यार्थीले अझै पाएनन् नयाँ पाठ्यपुस्तक

३५ हजार विद्यार्थीले अझै पाएनन् नयाँ पाठ्यपुस्तक

Trulli
ADVERTISEMENT

लमजुङ । जिल्लामा नयाँ शैक्षिक सत्र सुर भइसके पनि पाठ्यपुस्तक आइनपुग्दा समस्या भएको छ । नयाँ शैक्षिकसत्र यही जेठ १ गतेदेखि सुरु भए पनि जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुगेको हो । 

मर्स्याङ्दी गाउँपालिका–३ खुदीस्थित अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययरत सोनिका गुरुङ विद्यालय जान थालेको दुई हप्ता भइसकेको छ । हालसम्म पाँच किताब किन्न पाए पनि चारवटा अझै नपाउँदा अध्ययनमा समस्या भएको बताइन् । 

सोनिकाजस्ता जिल्लाका हजारौं विद्यार्थीको दुःखेसो उस्तै छ । करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठन प्रभावितपश्चात सुरु हुन लागेको नयाँ शैक्षिकसत्रको पढाइ पनि पाठ्यपुस्तक अभावले प्रभावित भएको छ । विद्यार्थी चिन्तित छन् । समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर भविष्यमाथि खेलवाड गरेको विद्यार्थीको आरोप छ ।

पाठ्यपुस्तक अभावले शिक्षक शिक्षिकालाई समेत पिरोलेको छ । सरकारले पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने भनेको छ । बेँसीसहर नगरपालिका–७ स्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठले भने, 'पठनपाठन सुरु भएको यतिका समय हुँदासमेत किताब उपलब्ध नहुँदा समस्या भएको छ ।'

बेँसीसहर–७ चण्डीडाँडास्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु थापा किताब उपलब्ध हुन कति समय लाग्छ भन्न सकिने अवस्था नभएको बताउछन् । स्थानीय तह निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको पुस्तक पसल सञ्चालक बताउँछन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङका अनुसार विद्यालयले पुरानै किताबबाट पठनपाठन गराउँदै आएका छन् । 

जिल्लााम सामुदायिकतर्फ ३३६ र निजीतर्फ ३३ विद्यालय छन् । सामुदायिक विद्यालयमा झण्डै २६ हजार र निजीतर्फ नौ हजार विद्यार्थी अध्ययनरत छन् ।