close

विद्यार्थीहरु १४ दिनदेखि अनसनमा, सरकार र सरोकारवाला मौन

विद्यार्थीहरु १४ दिनदेखि अनसनमा, सरकार र सरोकारवाला मौन

Trulli
ADVERTISEMENT

काठमाडौँ । त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान, महाराजगन्जले एमबिबिएस र बिडिएसको दोस्रो वर्षमा ४ पटकसम्म अनुत्तीर्ण हुनेलाई बिना आधार मौका परीक्षाबाट वञ्चित गराएको भन्दै १४ दिनदेखि विद्यार्थीहरू आन्दोलनमा छन् । तर, उनीहरूको माग बारे कतै सुनवाइ हुन सकेको छैन ।

पीडित विद्यार्थीहरूले सङ्घर्ष समिति नै गठन गरेर रिले अनसनमा थालेका हुन् । ती विद्यार्थीहरूले ४ वर्षे ब्यारियरमा परेका एमबिबिएस र बिडिएसका विद्यार्थीहरूका लागि तत्काल मौका परीक्षाको व्यवस्था गर्न माग गरेका छन् । 
मौका परीक्षा सञ्चालन गर्ने विषयमा स्वतन्त्र विद्यार्थी युनियन र चिकित्सा शिक्षा अध्ययन संस्थानबिच भएको सहमति समेत पालना नभएको उनीहरूको गुनासो छ । 

अन्यायमा परेका कतिपय विद्यार्थीहरू मानसिक रुपमा विक्षिप्त भएको आन्दोलनरत विद्यार्थीहरू बताउँछन् । कदंकदाचित कुनै दुर्घटना भयो भने त्यसको जिम्मेवारी चिकित्सा शिक्षा अध्ययन संस्थानले लिनु पर्ने चेतावनी समेत उनीहरूको छ । 

नियमानुसार एक जना विद्यार्थीले एमबिबिएस, बीडिएस शैक्षिक कार्यक्रमको दोस्रो वर्षको परीक्षामा ४ पटकसम्म परीक्षा दिन पाउँछन् । ४ पटकसम्म पनि अनुत्तीर्ण हुने विद्यार्थी स्वतः शैक्षिक कार्यक्रमबाट हटाइन्छन् तथा त्रिवि दर्ता रजिस्ट्रेसनबाट समेत बाहिरिन्छन् । यस्ता विद्यार्थीलाई मौका परीक्षा दिन संस्थानले यसअघि सहमति गरेको थियो । तर, त्यसलाई अहिलेसम्म कार्यान्वयन गरेको छैन ।

त्यही कारण अहिलेसम्म पनि ५ जना विद्यार्थीले आत्महत्या नै गरेको तथा २ जनाले मानसिक सन्तुलन गुमाएको आन्दोलनरत विद्यार्थी मयंक यादवले जानकारी दिएका छन् । 

साथै उनीहरुले मौका परीक्षाको व्यवस्था गर्न नसके विद्यार्थीबाट असुलेको अतिरिक्त रकम फिर्ता गर्न समेत माग गरेका छन् । 
यसैगरी अन्य कलेजको परीक्षा प्रणाली पनि परिवर्तन गर्न उनीहरूको माग छ । विद्यार्थीहरूले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

उता डिन कार्यालयले भने मौका परीक्षा गर्न कानुनी आधार नरहेको भन्दै सूचना प्रकाशन गरेको छ । 

गत जेठ ३१ गते प्रकाशित सूचनामा ब्यारियर सिस्टमअनुसार एमबिबिएस, बीडिएस शैक्षिक कार्यक्रमका दोस्रो वर्षको परीक्षामा परीक्षार्थी ४ पटकसम्म उत्तीर्ण हुन नसकेको खण्डमा उनीहरूलाई स्वतः शैक्षिक कार्यक्रमसहित त्रिवि दर्ता रजिस्ट्रेसनबाट हटाइने हुनाले मौका परीक्षा लिन नमिल्ने उल्लेख छ ।