close

गोकर्णेश्वरका भाग्यमानी विद्यार्थी : पालिकाको खर्चमा डाक्टर, इन्जिनियर, नर्सिङ पढ्दै

चिकित्साशास्त्रतर्फ अध्ययन गर्ने विद्यार्थीले ३ लाख, इन्जिनियरिङतर्फ २ लाख, नर्सिङतर्फ प्रत्येकले २ लाख ५० हजार र मानविकी, कानून, शिक्षा, व्यवस्थापनतर्फ अध्ययन गर्नेले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

गोकर्णेश्वरका भाग्यमानी विद्यार्थी : पालिकाको खर्चमा डाक्टर, इन्जिनियर, नर्सिङ पढ्दै

चिकित्साशास्त्रतर्फ अध्ययन गर्ने विद्यार्थीले ३ लाख, इन्जिनियरिङतर्फ २ लाख, नर्सिङतर्फ प्रत्येकले २ लाख ५० हजार र मानविकी, कानून, शिक्षा, व्यवस्थापनतर्फ अध्ययन गर्नेले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Trulli
ADVERTISEMENT

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले विभिन्न विषयमा पहिलो बर्ष अध्ययनका लागि ७ जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । बुधबार छात्रवृत्तिमा छनौट भएका विद्यार्थीहरुको सूचि सार्वजनिक गरेको गोकर्णेश्वरले गत कार्तिक २४ गते सार्वजनिक सूचना प्रकाशित गरी छात्रवृत्तिका लागि आवेदन माग गरेको थियो । 

चिकित्साशास्त्र अध्ययनका लागि वडा नं. ४ कि शुभाना ढुंगाना, इन्जिनियरिङतर्फ वडा नं. ९ का समिप थापा, नर्सिङतर्फ वडा नं. ८ कि सेलिना रोका र वडा नं. ३ कि रोश्री बराईली छनौट भएका छन् । त्यस्तै, मानविकि, कानून, शिक्षा तथा व्यवस्थापन विषयमा अध्ययनका लागि वडा नं. ६ कि कृपा लुईटेल र विभशा घिमिरे, वडा नं. २ का निकेश नेपाल छनौट भएका छन् । 

गोकर्णेश्वर नगर कार्यपालिकाले गत भदौ २८ गते ‘गोकर्णेश्वर नगरपालिकाभित्रका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने कार्यविधि’ पास गरेपछि नगरभित्रका विद्यार्थीहरुले डाक्टर, इन्जिनियर, नसिङ लगायतका विषयमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका हुन् । 

कार्यविधि अनुसार चिकित्साशास्त्रतर्फ अध्ययन गर्ने विद्यार्थीले ३ लाख, इन्जिनियरिङतर्फ २ लाख, नर्सिङतर्फ प्रत्येकले २ लाख ५० हजार र मानविकी, कानून, शिक्षा, व्यवस्थापनतर्फ अध्ययन गर्नेले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।  

नगर प्रमुख दिपक कुमार रिसालले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने वातावरण बनिसकेको बताउँदै आवश्यक परे आगामी बर्ष कोटा र रकम थप गर्ने बताए । उनले भने, ‘अन्य फजुल खर्च कटौती गरिसकिएको छ, त्यो रकम पनि यसैमा थपिदिन सक्छौं ।’

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले छात्रवृत्तिको रकम सिधै अध्ययनरत शैक्षिक संस्थामा पठाईने जानकारी दिए । 

‘गोकर्णेश्वर नगरपालिकाका स्थायी वासिन्दा भएका, सामुदायिक विद्यालयबाट एस्ईई पास गरेका, कक्षा ११ वा स्नातक तहको पहिलो बर्षमा भर्ना भई अध्ययन गर्ने छात्र÷छात्राहरुलाई प्राथमिकता दिई एक पटकका लागि छात्रवृत्ति उपलब्ध गराईनेछ’ प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने, ‘कार्यविधि अनुसार दरखास्त आब्हानका लागि सूचना जारी गरिसकेपछि प्राप्त रित पुगेका निवेदनलाई मूल्यांकन गरी नगर प्रमुखको संयोजकत्वमा बनेको छात्रवृत्ति छनौट समितिले सिफारिस गरेका विद्यार्थीहरुको सूची सार्वजनिक गरिएको हो ।’

गत असारमा सम्पन्न गोकर्णेश्वरको नगरसभाले छात्रवृत्तिका लागि बजेट विनियोजन गरेको थियो । नगरसभाले बजेट छुट्याएमा हरेक बर्ष १५ जनालाई छात्रवृत्ति प्रदान गर्ने कार्यविधिमा उल्लेख छ । तर, यसपटक भने ७ जनाले मात्र छात्रवृत्ति पाएका छन् । 

आवेदन कम आए : किन पुगेनन् १५ जना ? 
कार्यविधिले १५ जनालाई छात्रवृत्ति दिने व्यवस्था गरेको र १५ जनाकै लागि पुग्ने गरी बजेट समेत नगरसभाले विनियोजन गर्दा पनि संख्या नपुग्नुको कारणको खोजी गरी आगामी बर्ष विद्यार्थीको पहुँच वृद्धि गरिने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए । 

‘यहाँ बसेपनि स्थायी बासिन्दा नभएको, दोश्रो वा तेस्रो बर्ष अध्ययन गरिरहेको लगायतका कारण हुनसक्छन्’ प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने, ‘आवेदनको सूचना सबै विद्यार्थी तथा अभिभावकको पहुँचसम्म पुर्याउन विद्यालय, वडा तथा विभिन्न ठाउँमा सूचना टाँस गरी इच्छुकलाई उत्प्रेरितसम्म गरेका थियौं ।’ 

गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसालले सिटिईभिटीले लिने नर्सिङतर्फको इन्ट्रान्समा यस पालिकाभित्रका विद्यार्थीहरुको नाम कम निस्किएकाले संख्या घट्न गएको हुनसक्ने बताए । उनले भने, ‘छात्रवृत्ति पो हामिले दिने हो, नर्सिङ् पढ्ने विद्यार्थीको नाम त सिटिईभिटिले निकाल्ने हो नि त ।’ 

विधिभित्रका बैकुण्ठ
गोकर्णेश्वरका प्रमुख प्रशासकीय अधिकृत उनै बैकुण्ठ प्रसाद सापकोटा हुन्, जसले बुढानिलकण्ठ नगरपालिकामा रहँदा विधि बसाल्न खाजे, तर जनप्रतिनिधिको तारो बन्न पुगे । २०७७ मा बुढानिलकण्ठ नगरपालिका पुग्दा उद्यमशिलताका नाममा जथाभावी रकम दिने प्रचलनका विरुद्ध कार्यविधि निर्माण गर्न तम्सिए, सापकोटा । कार्यपालिकाले कार्यविधि त पास गर्यो तर उनी त्यहाँबाट सरुवा हुनेबित्तिकै तत्कालिन नगर प्रमुख उद्धव खरेलले ‘बुढानीलकण्ठ नगरपालिकाको उद्यमशीलता विकास सम्बन्धी कार्यविधि तथा मापदण्ड—२०७७’ खारेज गरे । विधिलाई मूल मन्त्र मान्दै काम गर्ने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले अहिले गोकर्णेश्वरमा पनि कृषि अनुदानको कार्यविधि तयार गरिसकेका छन् । औचित्य र विधिका आधारमा राज्य कोषको सदुपयोग गर्न कुनै सम्झौता नगर्ने उनी कृषि अनुदान वितरण पनि प्रतिस्पर्धाका आधारमा छनौट भएकालाई दिन कार्यविधि प्रकाशित गर्ने तयारीमा छन् । 

छात्रवृत्तिका लागि छनौट भएका विद्यार्थीहरुको सूची तल हेर्नुस् :