close

पाँच वर्षे सेवा पुरा गरेका शिक्षकलाई अन्तरविद्यालय सरुवा गर्दै दुुहुँ

पाँच वर्षे सेवा पुरा गरेका शिक्षकलाई अन्तरविद्यालय सरुवा गर्दै दुुहुँ

Trulli
ADVERTISEMENT

दार्चुला । दुहुँ गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई प्रत्येक पाँच वर्षमा सुरुवा गर्ने भएको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको सुरुवा गराउने जनाएको हो । 

पालिकाभित्रको शैक्षिक गुणस्तरमा सुधार गर्नको लागि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको हरेक पाँच वर्षमा सरुवा गराउन लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका शिक्षा शाखाका संयोजक लोकेन्द्रबहादुर बमका अनुसार सामुदायिक विद्यालयका शिक्षकमा जाँगर उजागरण गराउन र सिकाईमा वृद्धि गर्नको लागि सो निर्णय गरेको हो । 

लामो समय एउटै विद्यालयमा रहँदा शिक्षकको नियमितता, शिक्षण कौशलता तथा पेशाप्रति उत्साहमा कमी आउने समग्र शैक्षिक उदेश्य र अपेक्षित उपलब्धिमा असर परेको देखिएकोले गाउँपालिकाको कार्यपालिका बैठकले सो निर्णय गरेको उनले बताए । 

'पालिकामा कुनै उदाहरणीय विद्यालय छन् त कुनै नराम्रो विद्यालय पनि छन्,' उनले भने, 'पाँच/पाँच वर्षमा सरुवा गराउँदा राम्रा विद्यालयले नराम्रो शिक्षकलाई सुधार गराउन सकिन्छ । राम्रो शिक्षकबाट नराम्रो विद्यालयको शैक्षिक गुणस्तरीयता सुधार गर्न सकिन्छ ।' 

उनले सो अभ्यासबाट विद्यालय र शिक्षकहरुको अनुभव साटासाट गर्न सकिने बताए । 'लामो समय एउटै विद्यालयमा बसेर काम गर्दा समुदायप्रति शिक्षकको जिम्मेवारी बढ्दो रहेछ,' उनले भने, चाडपर्व, भोज भतेरमा शिक्षकलाई निम्तो आउँछ र विद्यालय समयमा पनि जाने गरेको पायौं । साथै, विद्यालयमा दिन समयमा कमी समेत आउँदाे रहेछ ।'

गाउँपालिकाको शिक्षा नियमावली २०७६ पहिलो संशोधनको नियय ५७ मा उल्लेखित 'गाउँपालिकाभित्र  एउटै विद्यालयमा ५ वर्ष सेवा अवधि पुरा गरेका शिक्षकलाई अन्तरविद्यालय सरुवा गर्ने' व्यवस्था बमोजिम शिक्षकको सरुवा गर्न लागेको हो । 

माध्यमिक तहको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई भएपनि शिक्षकको सरुवा गर्ने अधिकार नभएकाले आफूहरु अन्तरपालिका विद्यालय सरुवा गर्ने निर्णय गरेको उनले सुनाए । शिक्षासम्बन्धि संघीय ऐन निर्माणसँगै कार्यान्वयनमा आएपछि थप सहज हुने उनको विश्वास छ । 

हाल गाउँपालिकामा १९ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । शाखाका संयोजक बमका अनुसार पालिकाभित्र पालिका सहजकर्ता शिक्षक ३१ जना र दरबन्दी शिक्षक १०३ जना कार्यरत छन् । मुलुकभरका स्थानीय तहमध्येकाे पहिलाेे अभ्यास हुन सक्ने उनले बताए ।