close

ज्यान जोखिममा राखेर विद्यार्थीहरू न्वाघरी तर्न बाध्य

ज्यान जोखिममा राखेर विद्यार्थीहरू न्वाघरी तर्न बाध्य

Trulli
ADVERTISEMENT

सिगास गाउँपालिका-७ साङडा र थलार गाउँका ४० विद्यार्थी ज्यान जोखिममा राखेर हरेक दिन न्वाघरी नदी तर्न बाध्य छन् । न्वाघरी नदीमा पुल नहुँदा विद्यार्थीहरूका साथमा २ शिक्षक पनि ज्यानको बाजी थालेर दैनिक न्वाघरी तर्छन् । 

सिगास गाउँपालिका–७ साङडा र थलार गाउँमा कक्षा ३ सम्ममात्र पढाइ हुने सिगास गाउँपालिका-७ का वडाध्यक्ष कर्णबहादुर साउदले बताउँछन् । साङडा र थलारका सयौँ बालिबालिका न्वाघरी छिचोल्न नसकी पढ्ने सपनालाई कक्षा ३ मै पूर्णविराम लगाउन बाध्य भएका पनि छन् । सेती नदीको सहयाक नदी न्वाघरी नदीको वारी र पारी दुवैतिर चट्टानै चट्टान भएको हुँदा पुल बनाउन सम्भव नभएको सिगास गाउँपालिका-७ का वडाध्यक्ष साउदले पालिका खबरसँग बताए । 

वडाध्यक्ष साउदका अनुसार २ वटक आरसिसि पुल निर्माण गरिएको थियो तर नदीले बगाएपछि अहिले समस्या भएको हो । गणेश माविमा हाल १५० जना विद्यार्थी अध्ययनरत रहेका छन् जसमध्ये करिब २६ प्रतिशत विद्यार्थी सधैँ ज्यान जोखिममा राखेर न्वाघरी तर्न बाध्य छन् । 
न्वाघरी नदीले बगाउँदा हालसम्म तीन जनाको ज्यान लिइसकेको शिक्षिका लक्ष्मी चन्दले बताइन् । माथिल्लो कक्षा पढ्न यहाँका विद्यार्थीहरु दैनिक न्वाघरी नदी तरेर सिगास गाउँपालिका–६ स्थित गणेश मावि धाउँन बाध्य छन् । 

पुलका लागि स्थानीय, प्रदेश र संघीय सरकारका जनप्रतिनिधिसँग माग गरे पनि कुनै सुनुवाइ नभएको शिक्षिका चन्दको गुनासो छ । भौगोलिक हिसाबले सिगास गाउँपालिका जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा ठूलो स्थानीय तह हो ।