close

भुम्लुमा खानेपानीको समस्या : विद्यालयमा पिउन घरैबाट पानी बोक्छन् विद्यार्थी

भुम्लुमा खानेपानीको समस्या : विद्यालयमा पिउन घरैबाट पानी बोक्छन् विद्यार्थी

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक– भुम्लु गाउँपालिका-४ को याक्पा चौबासस्थित सेतीदेवी माध्यमिक विद्यालयमा पानीको समस्या भएको वर्षौं बित्यो । खानेपानीको दिगो स्रोत नहुँदा विद्यालयले पानीको समस्या भोग्दै आएको छ । 

विद्यालयको प्रधानाध्यापक सुस्मिता न्यौपानेका अनुसार विद्यालयमा पानीको मुहानबाट खेर गएको पानीलाई पाइपबाट ल्याएर विद्यार्थीलाई खुवाउने गरिन्छ । विद्यालयमा अध्ययनरत  १४३ जना विद्यार्थीलाई स्वच्छ पिउने पानीको व्यवस्था नभएको उनले बताइन् ।  

उनले पालिकाखबरसँग भनिन्, ‘खानेपानीको मुहानमा जापानिज हेनेप संस्थाले विद्यालयको लागि पानी ट्याङ्की बनाएको रहेछ । त्यो ट्याङ्कीको पानी समुदायले प्रयोग गर्दो रहेछ । ट्याङ्कीबाट विद्यालयमा पानीको पाइप नभएकाले मुहानको ट्याङ्की बाहिरबाट खेर जाने पानीलाई पाइपबाट तानेर विद्यालयसम्म लैजान्छौँ ।’

माघ/फागुनमा ट्यांकीबाट पानी खेर नजाने भएकाले पानीको लागि समस्या हुने गरेको उनले बताए । सो समयमा विद्यालयभन्दा करिब ४०० मिटर तल रहेको पानी ट्याङ्कीबाट मेसिन लगाएर पम्पिङ गरेर पानी तान्ने गरिएको उनले बताइन् । 

ट्याङकी बाहिरको खुल्ला पानी विद्यालयमा ल्याएकाले स्वच्छ पनि नभएको उनको भनाइ छ । उनले भनिन्, ‘त्यही पानी ल्याउन पनि गाह्रो छ । बीचबीचमा पानीको पाइप छुट्याइदिन्छन् । बिहान बेलुका गएर पाइप जोड्नुपर्ने हुन्छ ।’ 

पानी नभएको समयमा विद्यालयका शौचालयहरूमा पनि फोहर नै बस्ने गरेको उनले सुनाइन् । गाउँपालिकाले विद्यालयमा पानीको व्यवस्थापनको लागि केही पहल नगरेको उनको भनाइ छ । विद्यालयले पानीको स्वच्छ बनाउन एउटा हट वाटर डिस्पेन्सर राखेको उनले बताइन् । 

यस्तै भुम्लु गाउँपालिकाकै  वडा नम्बर १० को दुलालेश्वर माध्यमिक विद्यालयमा पनि पानीको समस्या नौलो होइन । पानीको मुहानबाट पाइपमा तानेर विद्यालयले पानीको व्यवस्थापन गरेको भए पनि वर्षायामको तीन महिनामा खानेपानीको समस्या हुने गरेको प्रधानाध्यापक अशोक चन्द झाले पालिकाखबरसँग बताए । 

उनले भने, ‘पानीको मुहान एक किलोमिटर भन्दा टाढा छ । मुहानको पानी पाइपलाई खोल्साबाट ल्याइन्छ । तर पानी परेको बेलामा बाटो बिग्रिएर पाइप बगाउँछ । मुहानको पानी पनि धमिलो हुन्छ ।’ सो समयमा विद्यालयले विद्यार्थीहरुलाई पानी किनेर खुवाउने वा पिउने पानी घरबाटै ल्याउन लगाउने गरिएको उनले बताए । 

सो समयमा पानीको समस्याको समाधान नभए पनि जसोतसो समय कट्ने गरेको प्रधानाध्यापक झाले बताए । विद्यालयमा ३२६ विद्यार्थीहरु अध्ययन गर्छन् । 

भुम्लुको वडा नं ६ को जनता माध्यमिक विद्यालयको लागि पनि पिउने पानीको समस्या अब दैनिकीजस्तै भइसक्यो । तर पछिल्लो चार महिना यता लिफ्टिङ गरेको पानी विद्यालयमा आउने गरेकाले केही सहज भएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद गुरागाईंले बताए । उनले भने, ‘तर लिफ्टिङ गरेको पानी पनि नियमित आउँदैन । आउँदा पनि शौचालयमासमेत प्रयोग गर्ने गरी पर्याप्त आउँदैन ।’

तीन चार दिनमा करिब २ घण्टाको लागि पानी आउने उनले सुनाए । सो पानी विद्यालयले ट्यांकीमा जम्मा गरेर राख्ने गरेको र पिउनको लागि स्वच्छ नरहेको उनको भनाइ छ । उनले भने, ‘ड्रममा भरेको पानी पिउन प्रयोग गरिन्छ ।’ जारमा पानी भरेर कक्षा कोठामा पिउनको लागि व्यवस्थापन गरिएको उनले सुनाए । 

यस शैक्षिक सत्रमा विद्यालयमा २३० जना विद्यार्थीहरु अध्ययनरत छन् । पानी नहुँदा बोकेर भए पनि पानी खुवाउने गरेको उनले बताए । लिफ्टिङ खानेपानीमा पानी नआउँदा विद्यालयमा कार्यरत दुई जना कार्यालय सहयोगीले पानीको मुहानबाट बोकेर विद्यार्थीहरूलाई खानेपानी खुवाउने गरेको उनले बताए । 

विद्यालयको खेलमैदान पनि सानो भएको र घेराबार नहुँदा समेत समस्या भएको विद्यालयका प्रधानाध्यापक गुरागाईंले गुनासो गरे । ‘दशैंको बिदा हुनुभन्दा अघिल्लो दिन एकजना विद्यार्थी बल लिन जाँदा ५० मिटरको उचाइबाट लडेर घाइते भए ।’

गाउँपालिकाका अधिकांश विद्यालयमा खानेपानीको अभाव छ । पालिकामा ४६ वटा विद्यालयमध्ये ८० प्रतिशत विद्यालयमा खानेपानीको सुविधा नरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रेमकुमार पुरी बताउँछन् । उनका अनुसार पालिकाका अधिकांश बस्तीमै खानेपानीको हाहाकार छ । पूरै गाउँपालिकाभरि नै पानीको समस्या रहेको उनले पालिकाखबरसँग बताए । 

नेपाल सरकारको तर्फबाट पालिकामा खानेपानीका लागि अहिलेसम्म कुनै प्रोजेक्ट आएको छैनन् । ‘केही एनजिओ, आइएनजीओले खानेपानीको क्षेत्रमा काम गर्ने प्रस्ताव आएको थियो । तर, ती संस्थाहरूले पनि सक्रिय भएर काम गर्न सकेनन्,’ उनले भने । 

पालिकाभित्रका केही विद्यालयले आफ्नै आन्तरिक स्रोतबाट खानेपानीको व्यवस्था गरेको उनले बताए । बाँकी विद्यालयमा धारासहित शुद्ध पानीको सुविधा नहुँदा समस्या रहेको उनले सुनाए ।