close

खाँडादेवीमा 'एक वर्ष एक प्राथमिकता'

खाँडादेवीमा 'एक वर्ष एक प्राथमिकता'

Trulli
ADVERTISEMENT

रामेछाप– खाँडादेवी गाउँपालिकाले हरेक वर्ष एक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । गाउँपालिकाको दोस्रो कार्यकालका जनप्रतिनिधि आएयता हरेक वर्ष एउटा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । 

गत वर्ष गाउँपालिकाले ‘कृषि वर्ष २०७९’ घोषणा गरेर कृषिलाई प्राथमिकतामा राखेर काम गरेको थियो । यस वर्षलाई ‘शिक्षा वर्ष २०८०’ घोषणा गरेर शैक्षिक क्षेत्रमा आवश्यक परेको न्यूनतम कार्यक्रम र साधारण कुरालाई समेत शत प्रतिशत प्रभाव पर्ने गरी काम सुरु गरेको पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए ।

गाउँपालिकाले आगामी वर्ष 'स्वास्थ्य क्षेत्र' वर्ष र अर्को वर्ष 'पर्यटन वर्ष' घोषणा गर्ने उनले बताए । उनले भने, ‘पाँचवर्षमा हरेक वर्ष एउटा क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने हाम्रो मिशन छ ।’  

गाउँपालिकाले वा सरकारले भएजति सबै कुरालाई नियमित सम्बोधन गर्दा खुद्रा हुने र जनताले महशुस हुने गरी काम गर्न नपाइने अध्यक्ष श्रेष्ठको भनाइ छ । आफ्नो पाँच वर्षको कार्यकालमा देखिने र प्रभाव पर्ने गरी काम गर्न प्रत्येक एक वर्षमा एउटा क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरेको उनले बताए ।

यस वर्षलाई 'शिक्षा वर्ष'

शिक्षा वर्षको रुपमा वर्ष २०८० लाई गाउँपालिकाले मनाइरहँदा अन्य वर्षको तुलनामा थप दुई करोड बजेट विनियोजन गरेर कार्यक्रमहरु सञ्चालन गरिरहेको उनले बताए । सो बजेट शिक्षा क्षेत्रको न्युनतम आवश्यकता पूरा गर्नमा लगाएको उनले पालिका खबरसँग बताए ।

राज्यले शिक्षक र विद्यार्थीको अनुपातको आधारमा माध्यमिक, निम्न माध्यमिक र प्राथमिक विद्यालयमा कम्तिमा ४ वटा विषयगत शिक्षक अनिवार्य दिनुपर्ने कानूनी व्यवस्था रहेको तर राज्यले दिन नसकेको उनले सुनाए । गाउँपालिकाले यस वर्ष विद्यालयमा शिक्षकको दरबन्दी पूरा गरेको उनले बताए ।

यस वर्षबाटै शहरका निजी विद्यालयजस्तै गाउँपालिकाभित्रका विद्यालयमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म विद्यालयमा नै बस्ने, खाने, खेल्ने व्यवस्था गरिएको छ । पालिकाका प्रत्येक विद्यालयमा 'डे बोडस'सहित दिवा खाजाको प्रबन्ध गरेको उनले बताए । सो सुविधा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइएको छ ।

पालिकामा अध्ययनरत कुल चार हजार ५०० विद्यार्थीलाई नै गाउँपालिकाले दिवा खाजा र आवासीय सुविधा उपलब्ध गराउने तयारीमा रहेको अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘विग स्कुलको अवधारणा अनुसार कक्षा ९ देखि १२ सम्म गाउँपालिकाभर अध्ययन हुने एउटा मात्र विद्यालय बनाउने योजनामा छौँ । प्रत्येक वडामा कक्षा ८ सम्म अध्ययन हुने आधारभुत विद्यालय सञ्चालन गर्छौँ ।’

हाल आवासको लागि भौतिक पूर्वाधार तयार नभएको उनको भनाइ छ । आगामी वर्षदेखि आवासीय व्यवस्थासहित विद्यालय सञ्चालन गर्ने लक्ष्य पालिकाले लिएको उनले बताए ।

यसका साथै यस वर्षदेखि गाउँपालिकाले विद्यालयका प्रधानाध्यापकलाई आवासको व्यवस्था गरेको उनले बताए । दिवा खाजा बनाएर खुवाउने व्यक्तिलाई दैनिक १०० रुपैयाँ भत्ताको व्यवस्थासमेत गाउँपालिकाले मिलाएको छ ।

यसै वर्षदेखि गाउँपालिकाले प्राथमिक तहमा मल्टि ग्रेड मल्टि लेबल (एमजिएमएल) विधिको अवलम्बन गरेको छ । ‘गाउँघरका विद्यालयमा एउटा कक्षामा दुईचार जनामात्र विद्यार्थी हुने भएकाले यो विधि अवलम्बन गरेका हौँ,' उनले भने, 'यो विधिबाट पूर्व प्राथमिक तहका विद्यार्थीलाई एउटा कक्षा, कक्षा १ देखि तीन सम्मका विद्यार्थीलाई एउटा र कक्षा चार र पाँचमा अध्ययनरत विद्यार्थीलाई एउटा कक्षामा राखेर पाउँछौँ । एउटा कक्षामा एउटा शिक्षकले पढाउँछन् । तीनजना शिक्षकले कक्षा पाँचसम्म पढाउन सक्नुहुन्छ ।’ 

उनका अनुसार सो विधिबाट अध्यापन गराउन कक्षामा विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सामाग्री उपलब्ध गराइएको छ । कक्षाकोठामा फर्निसिङ सहितको व्यवस्थापन गर्नुका साथै विद्यार्थीले विद्यालयमा खाना खान, नाच्न, खेल्न पाइने व्यवस्था मिलाइएको छ । कक्षामा स्मार्ट बोर्डबाट पढाइ हुने उनले बताए । पालिकाभित्र विद्यालयहरुमा कक्षा ५ सम्म सो विधि लागू गरिएको उनको भनाइ छ ।

यो वर्षमा शिक्षालाई प्राथमिकतामा राखेर सामुदायिक विद्यालयलाई निजी विद्यालयजस्तै गुणस्तरीय हुने गरी रुपान्तरण गरेको पालिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।हाँ जाँच गर्नुहोस्