close

गृहिणीलाई साक्षर बनाउन खुलेको मनमैजु: पालिकाको सहयोगमा नि:शुल्क शिक्षा

गृहिणीलाई साक्षर बनाउन खुलेको मनमैजु: पालिकाको सहयोगमा नि:शुल्क शिक्षा

Trulli
ADVERTISEMENT

काठमाडौं– तारकेश्वर नगरपालिका वडा नं ९ को वडा कार्यालयको प्राङ्गण नजिकै २०६५ सालदेखि मनमैजु महिला विद्यालय औपचारिक रुपमा सञ्चालनमा छ । विद्यालय जाने उमेरमा पढ‍्न नपाएका महिलाहरुलाई साक्षर बनाउने उदेश्यले साे विद्यालय सञ्चालनमा आएकाे हाे ।

विद्यालय उमेरमा पढ्ने अवसर नपाएका तर पढ्ने रहर भएका महिलाहरु सो वैकल्पिक विद्यालयबाट  औपचारिक शिक्षा लिइरहेका छन् । 

सुरुवाती दिनमा कक्षा ५ पढाई हुने साे विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुन्छ । यस शैक्षिकसत्रमा १६५ जना महिलाहरुले सो विद्यालयबाट आफ्ना पढ्ने सपना पूरा गरिरहेका छन् । 

वडा नं ९ का वडा सदस्य, न्यायिक समितिका सदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्वल अधिकारीका अनुसार महिलाहरुलाई प्राथमिकतामा राखिएको सो विद्यालयमा गृहिणीदेखि विद्यालय उमेरमा जान नपाएका महिलाहरुले अध्ययन गर्दै आएका छन् । 

महिलाहरुले घर गृहस्थीको काम सकाएर विद्यालयमा पढ्न आउने भएकाले  बिहान ११ बजेदेखि कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए । ‘१० बजे बच्चालाई विद्यालयमा पठाएर पढ्न आउने महिलाहरु पनि हुनुहुन्छ । उहाँहरुलाई सहज हुने गरी बिहान ११ देखि दिउँसाे ४ बजेसम्म पढाउँछौँ,’ उनले भने । विद्यालयमा १८ वर्षकी रेश्मी दर्जीदेखि सबैभन्दा पाको उमेरकी ७३ वर्षकी विष्णुमाया सापकोटासम्म अध्ययनरत रहेकाे उनले पालिकाखबरलाई सुनाए । 

विद्यालय सञ्चालन गर्न पहिले धेरै समस्या भए पनि तारकेश्वर नगरपालिकाले पछिल्लो समयमा शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिरहेकाले मनमैजुलाई पनि सहयोग गरेकाले  सहज भएको उनले बताए । 

एउटा कक्षामा एक जना शिक्षकका दरले हाल विद्यालयमा ७ जना शिक्षक कार्यरत छन् । नगरपालिकाले बजेट छुट्याएपछि अर्को शिक्षक ल्याउने तयारीमा विद्यालय छ । विद्यालयमा अध्ययनरत महिलाहरुमा प्रेसर, थाइराइड, सुगरलगायत विभिन्न स्वास्थ्य समस्या भएकाले स्वास्थ्यसम्बन्धी शिक्षक ल्याउने योजना विद्यालयको छ । 

‘स्नातक गरेको रजिस्टार अनमी वा स्टाफ नर्स विद्यालयमा नै राखेर विद्यार्थीको स्वास्थ्यको ध्यान राख्ने योजनामा छौँ,’ उनले सुनाए । १४ औँ नगरसभामा स्वास्थ्य शिक्षकको लागि ७ लाख ५० हजार विनियोजन गर्ने तयारीमा नगरपालिका रहेको उनले बताए । 

शिक्षकहरुको सुविधा नभएका कारण लामो समयसम्म विद्यालयमा कक्षा ५ भन्दा बढी पढाउन नसकेको उनले बताए । गत वर्ष कक्षा ६ सम्म अध्यापन हुने गरेको सो विद्यालयलाई यस वर्षबाट कक्षा ७ सम्म बनाइएको छ । नगरपालिकाले हरेक वर्ष एउटा कक्षा थप गर्दै माध्यमिक तहको विद्यालय बनाउने लक्ष्य लिएको छ । सो विद्यालयलाई कक्षा १२ सम्म अध्ययन गर्ने विद्यालय बनाउने उनले बताए । 

‘यहाँको पढाइ पुरा गरेपछि विद्यार्थीहरुले थप शिक्षाका लागि अन्य विद्यालयबाट एसईई हुँदै कक्षा १२ सम्म पढ्नुभएको छ भने धेरैको अध्ययन रोकिएको छ । अहिले कक्षा ७ मा यहाँ पढिरहनु भएका विद्यार्थीले कक्षा ८ यहिँ पढ्न पाउनुहुन्छ,’ उनले भने । 

नगरपालिकाको सहयोग पाएपछि आर्थिक स्रोत जुटाउन सहज भएकाले यस शैक्षिक सत्रदेखि विद्यालयले भर्ना शुल्क र मासिक शुल्क निशुल्क गर्दा विद्यार्थीहरुको आकर्षणसमेत बढेको छ ।

आफ्नै भौतिक संरचनाबाट सञ्चालित सो विद्यालयमा नगरपालिकाको आर्थिक सहयोगमा चारवटा शौचालय निर्माणाधीन अवस्थामा छ । सोको लागि नगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको उनले बताए । विद्यालयको चारवटा कोठा थप्ने काम भइरहेको व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बताए । 

वडा कार्यालयले विद्यालयमा मासिक शिक्षाका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापन गरेको तथा नगरपालिकाले थप रकम छुट्याएर विद्यालयलाई थप व्यवस्थित बनाइरहेको उनले बताए । 

विद्यालयमा कम्तिमा ३०० जना विद्यार्थी पढाएर सबैलाई साक्षर बनाउने मनमैजुको उदेश्य रहेको उनले बताए ।