close

हजारौंको पहरेदार ‘हेलम्बु एकीकृत सिकाइ केन्द्र’

हजारौंको पहरेदार ‘हेलम्बु एकीकृत सिकाइ केन्द्र’

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– दुर्गम पहाडी भूभागका बालबालिकाहरू उच्च शिक्षा लिन चाहँदा पनि शहरमा जस्तो सहज छैन । आर्थिक अवस्था राम्रो भएका परिवारका बालबालिका उच्च शिक्षाका लागि सदरमुकाम हुँदै संघीय राजधानीसम्म पुग्छन् । अधिकांश विपन्न परिवारका विद्यार्थीहरू भने एसईईपछिको अध्ययनलाई बिट मार्न बाध्य छन् । 

गाउँमा भनेजस्तो शैक्षिक संस्था नहुने र शहरमा गएर पढ्न नसक्दा विद्यार्थीहरूले एसईईपछि बीचैमा पढाइ छाड्ने समस्या सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पनि थियो । विद्यार्थीहरूको अध्ययनको शिलशिला नरोक्न र चाहेको विषय पढाउन गत वर्षबाट गाउँपालिकाले एउटा उपाय निकालेको छ । त्यो हो, ‘हेलम्बु एकीकृत सिकाइ केन्द्र’ । 

गाउँपालिका वडा नं २ को भूमेश्वरी माध्यमिक विद्यालय, वडा नं ४ को सरस्वती माध्यमिक विद्यालय र वडा नं ६ को महेन्द्र माध्यमिक विद्यालय गरी हेलम्बु गाउँपालिकाभित्र कक्षा १० भन्दा माथिल्लो तहसम्म पढाइ हुने तीनवटा विद्यालय छन् । ती विद्यालयमा पनि विद्यार्थीको संख्या कम हुनुका साथै दक्ष शिक्षकहरूको अभाव भएपछि गाउँपालिकाले एकीकृत सिकाइ केन्द्र सञ्चालनमा ल्याएको हो । 

हेलम्बुका विद्यार्थीले कक्षा ११ र १२ मा आआफ्नो विद्यालयबाट भर्ना गर्छन् । भर्ना गरेको विद्यालयबाट नै उनीहरूले वार्षिक परीक्षा फारम भर्छन् र सोही विद्यालयबाट ‘पास आउट’ पनि हुन्छन् । तर, बीचको समयमा भने उनीहरू आफ्नो विद्यालयमा पढ्दैनन् । पालिकाका तीनवटा विद्यालयमा भर्ना भएका विद्यार्थीहरू सबैले एकीकृत सिकाइ केन्द्रबाट पढाइ पूरा गर्छन् ।  

एकीकृत सिकाइ केन्द्र नि:शुल्कमात्र होइन, पोसाक, स्कुल बसदेखि दिवा खाजासम्मको व्यवस्था छ । 

ग्याल्थुममा रहेको मेलम्ची भ्याली क्याम्पसको भवनबाट एकीकृत सिकाइ केन्द्र सञ्चालन गरेर अध्यापन गराइरहेको पालिकाका शिक्षा शाखा प्रमुख धनध्वज तामाङले जानकारी दिए । गत वर्षबाट पढाउन सुरु गरे पनि हाल सिकाइ केन्द्रमा अध्ययन गर्ने विद्यार्थी २४० जना पुगिसकेका छन् । कक्षा ११ मा १२९ जना र कक्षा १२ मा १११ जना विद्यार्थीले पढिरहेको उनले बताए । 

एकीकृत सिकाइ केन्द्रमा आवश्यक दक्ष शिक्षकहरूको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष नीमा ग्याल्जेन ह्योल्मोले सुनाए । उनका अनुसार विद्यालयमा शिक्षकहरू अभाव र आवश्यक पूर्वाधारको पनि कमी रहेकाले एकीकृत सिकाइ केन्द्र सञ्चालनमा ल्याएको हो । सिकाइ केन्द्रमा आवश्यक शिक्षकको पनि व्यवस्था गरिएको छ भने कानुन, व्यवस्थापन, कम्प्युटर विज्ञान तथा प्राविधिक विषय राखेर विद्यार्थीहरूलाई मनपर्ने विषय रोजेर पढ्न पाउने व्यवस्था मिलाइएको छ । 

यातायातदेखि खाजासम्म नि:शुल्क व्यवस्था 

गाउँपालिकाले एकीकृत सिकाइ केन्द्र सञ्चालन गरेर विद्यार्थीलाई पढ्ने व्यवस्था मात्र मिलाएको छैन । निःशुल्क शिक्षाको समेत व्यवस्था गरेको छ । शहरमा गएर पढ्न खर्चिलो हुने र विपन्न परिवारका बालबालिकालाई पढ्न समेत समस्या हुने भएकाले नि:शुल्क शिक्षा प्रदान नगरिएको गाउँपालिकाका अध्यक्ष ह्योल्मो बताउँछन् । 

उनले भने, ‘कक्षा ११, १२ पढ्न काठमाडौं जाने हो भने महिनाको २५ हजारभन्दा बढी खर्च हुन्छ । यहाँ हामीले विद्यार्थीलाई नि:शुल्क शिक्षा उपलब्ध गराएका छौँ ।’ 

सिकाइ केन्द्र सबै विद्यार्थीको पायक नपर्ने भएकाले टाढा टाढाबाट पढ्न आउने विद्यार्थीहरूको लागि स्कुल बसको समेत व्यवस्था गरिएको छ । विद्यार्थीका लागि सिकाइ केन्द्रसम्म आउन गाउँपालिकाले दुईवटा बसको व्यवस्था गरेको उनले जानकारी दिए । यस्तै नेपाल सरकारले कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था गर्दा हेलम्बुले भने कक्षा ११ र १२ का विद्यार्थीहरूलाई समेत निःशुल्क दिवा खाजाको व्यवस्था गरेको छ ।

सिकाई केन्द्रमा अध्ययन गर्न विद्यार्थीले कुनै पनि शुल्क तिर्नु नपर्ने बताउँदै पालिका अध्यक्ष ग्याल्जेनले विद्यार्थीहरूलाई पोसाक समेत निःशुल्क उपलब्ध गराएको बताए । उनले भने, ‘कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीले कुनै पनि शुल्क तिर्नुपर्दैन । खाजा, पोसाक, मासिक शुल्कदेखि यातायात सबै गाउँपालिकाले व्यहोर्छ ।’ कक्षा ११ र १२ मा निःशुल्क पढाउन चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको पालिका अध्यक्ष ह्योल्मोले जानकारी दिए । 

गत वर्षबाट सबै सुविधासहित गाउँपालिकाले पढाउन थालेपछि विद्यार्थीहरू अध्ययनको लागि पालिका बाहिर कम गएको शिक्षा शाखा प्रमुख तामाङको दाबी छ । उनले भने, ‘एसईई पछि केही विद्यार्थी काठमाडौं पढ्न जान्थे । धेरै विद्यार्थीले पढाइ छाड्थे ।’ गाउँपालिकाले यातायातको सुविधासहित निःशुल्क शिक्षा उपलब्ध गराएपछि ड्रप आउट हुने तथा राजधानी जाने विद्यार्थीको संख्या घटेको उनले पालिकाखबरलाई बताए ।