close

शिक्षक अभावको ओखती ‘घुम्ती स्वयंसेवक शिक्षक’

शिक्षक अभावको ओखती ‘घुम्ती स्वयंसेवक शिक्षक’

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक– बेथानचोक गाउँपालिकाले पालिकाको शिक्षकको अभाव समाधानको लागि ‘अध्यक्षसँग घुम्ती स्वयंसेवक शिक्षक कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । निर्वाचित भएर आउनेबित्तिकै शिक्षा क्षेत्रको सुधारको प्रयत्नका लागि सो कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए । शैक्षिक क्षेत्रको सुधारका लागि परिचालित गरेका घुम्ती स्वयंसेवक शिक्षकले शिक्षामा सकरात्मक प्रभाव पारेको उनी बताउँछन् ।

उनले भने, ‘महिला शिक्षकको सुत्केरी बिदाका कारणले ९८ दिन बिदा लिन्छन् । त्यो समयमा विद्यालयमा शिक्षक खाली हुन्छ तर तुरुन्त शिक्षक सेवा आयोगले शिक्षक दिन सक्दैन । शिक्षक अभाव कारण विद्यार्थीहरूको कक्षा खाली हुने देखियो,’ शिक्षामा गुणस्तर वृद्धि र उपचारात्मक विधिको रुपमा घुम्ती स्वयंसेवक शिक्षक परिचालन गरिएको उनले बताए । 

घुम्ती स्वयंसेवक शिक्षकले विद्यालयमा पढाउँछन् । साथै समूदाय र टोलमा गएर विद्यार्थीहरूको गृहकार्य जाँच गर्ने, अभिभावकलाई ओरिएन्टेशन गर्ने, होमवर्क गराउने समेत काम गर्छन् । विद्यार्थीहरूको अतिरिक्त कृयाकलापमा आवद्ध गराउन पनि घुम्ती स्वयंसेवक शिक्षकबाट सहयोग पुगेको छ । खेलकुद, नृत्य, संगीत, योगा विषयसँग सम्बन्धित शिक्षकहरू पनि राखिएको उनले बताए । योगाको शिक्षक हाल पालिकामा नभएकाले नियुक्ति गर्ने तयारीमा रहेको उनले बताए ।

अतिरिक्त कृयाकलापलाई बढाउँदै शिक्षातर्फ विद्यार्थीहरूको बढेको नैराश्यपनलाई हटाएर तरङ्ग पैदा गर्न सफल भएको उनी बताउँछन् । अतिरिक्त कृयाकलापका कारण बालबालिकाहरू पनि रमाइलो मान्दै विद्यालयमा आउने गरेका छन् भने खेलकुदमा पनि आफ्नो प्रतिभा देखाउने मौका पाएका छन् । 

बेथानचोक गाउँपालिकाभित्र १० वटा माध्यमिक विद्यालय, २० वटा आधारभूत गरी ३० वटा सामुदायिक विद्यालय छन् । स्वयंसेवक शिक्षक पालैपालो पालिकाका सबै विद्यालयमा पुग्छन् । ‘नृत्यको शिक्षक एउटा वडामा गएर एक हप्तासम्म बस्नुहुन्छ । र त्यहाँका विद्यालयमा नृत्य सिकाउनु हुन्छ । अर्को वडामा गएर फेरि त्यसरी नै गएर पढाउनुहुन्छ ।’

घुम्ती स्वयंसेवक शिक्षक जुन स्थान र विद्यालयमा आवश्यकता हुन्छ त्यहीँ पुगेर पढाउने गरेको उनले जानकारी दिए । जहाँ शिक्षकको अभाव छ त्यो ठाउँमा घुम्ती स्वयंसेवक शिक्षकलाई तीन महिनाको लागि राख्ने र त्यो विद्यालयमा शिक्षक आइसकेपछि आवश्यक परेको अन्य विद्यालयमा खटाइने गरेको उनले बताए । कक्षा १ देखि १० सम्म स्वयंसेवक शिक्षकले पढाउने गरेका छन् 

‘अध्यक्षसँग घुम्ती स्वयंसेवक शिक्षक’ को लागि बजेट विनियोजन गरेर कार्यविधि तयार गरेर गाउँपालिकाले घुम्ती शिक्षक खटाएको छ । सो कार्यक्रमबाट शिक्षकको खडेरी परेको अवस्थालाई चलायमान बनेको उनले बताए । बेथानचोकमा घुम्ती शिक्षक निकै प्रभावकारी बनेकाले सो विषयमा अन्य स्थानीय तहले समेत चासो राख्ने गरेको पालिका अध्यक्ष अधिकारी बताउँछन् । ‘अरू स्थानीय तहले पनि यो कार्यक्रम र कार्यविधिको बारेमा हामीसँग सोधखोज गरिरहनु हुन्छ,’ उनले भने । 

अनुभव नभएका स्थानीय युवालाई रोजगारी 

बेथानचोक गाउँपालिकाभित्र हाल १३ जना घुम्ती शिक्षक कार्यरत छन् । ३/४ जना शिक्षक थप आवश्यक रहेकाले नयाँ आवेदनको लागि विज्ञापन खोल्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष अधिकारीले पालिकाखबरलाई बताए । योग्यता भएका तर अनुभव नभएका युवालाई स्वयंसेवक शिक्षकको रुपमा गाउँपालिकाले रोजगारीको अवसर प्रदान गरेको हो । 

आवश्यकता अनुसार दरबन्दी शिक्षक नरहेको, शिक्षक बिदामा रहेको समयमा शिक्षकको अभाव पूर्ति गर्न सहज भएको छ भने युवालाई रोजगारी प्रदान गर्न सहज भएको उनले बताए । ‘रोजगारी पालिकाभित्र पनि सम्भव छ भनेर पनि यो कार्यक्रम अघि बढाएका हौँ,’ उनले भने । स्वयंसेवक शिक्षक नियुक्ति गर्दा बेथानचोकका स्थानीयलाई प्रमुख प्राथमिकतामा राखिएको र स्थानीयबाट मात्र पदपूर्ति गर्न नसकेमा मात्र अन्य नागरिकलाई समेत राखिने उनले जानकारी दिए । 

घुम्ती स्वयंसेवक शिक्षकले हाजिरी भएको दिनको आधारमा तलब पाउने गरेका छन् । घुम्ती स्वयंसेवक शिक्षक भएर युवाले आफ्नो प्रतिभासमेत देखाउन पाउने उनले बताए । ‘ स्वयंसेवक शिक्षक कार्यरत हुँदै गर्दा शिक्षक सेवामा वा अरू क्षेत्रमा नाम निकालेर अन्य क्षेत्रमा राम्रो जागिर पनि खान जानुभएको छ । उहाँहरूको ठाउँमा फेरी नयाँ शिक्षकलाई राख्ने क्रम चलिरहेको छ ।’ स्वयंसेवक शिक्षकभन्दा स्थानीय सरकारसँग काम गरेको अनुभव पनि हुने भएकाले युवाहरूलाई अरु काम गर्न समेत सहज भएको उनले सुनाए ।