close

अति विपन्नलाई आवासीय विद्यालयबाट पढाउँदै राप्ती

अति विपन्नलाई आवासीय विद्यालयबाट पढाउँदै राप्ती

Trulli
ADVERTISEMENT

चितवन– राप्ति नगरपालिकाले घर टाढा भएका विपन्न चेपाङ बालबालिकालाई लक्षित गर्दै तीन वटा आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ । यसबाट ग्रामीण क्षेत्रका बालबालिका लाभान्वित भएका छन् । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार चालु शैक्षिक सत्रबाट दुईवटा विद्यालयमा आवासीय व्यवस्थापनको सुरुवात गरिएको हो ।

एउटा विद्यालयमा नगरपालिकाले यस अघिनै आवासीय कक्षा सञ्चालन गरेको थियो ।  उनका अनुसार राप्तीको विकट गाउँ कान्दामा रहेको कान्देश्वरी आधारभूत विद्यालयमा यसै शैक्षिक सत्रबाट नगरपालिकाले आवासीय कक्षा सञ्चालन गरेको हो । यसअघि मितेरी फाउण्डेशन र लक्ष्मी प्रतिष्ठानले आवासीय विद्यालय सञ्चालन गर्दै आएकोमा यस वर्षबाट नगरपालिकाले सहयोग गर्न थालेको हो । त्यहाँ एक सय ५० जना चेपाङ बालबालिका अध्ययनरत छन् । फाउण्डेशन र प्रतिष्ठानले भौतिक संरचना यस अघिनै बनाएको थियो । 

त्यहाँ कार्यरत दुईजना शिक्षक÷कर्मचारीको खर्च व्यवस्थापन तीनै संस्थाले गर्दै आएका छन् भने अन्य व्यवस्थापनमा नगरपालिकाले सहयोग गरेको छ । यो राप्ती नगरपालिका–१३ मा पर्दछ । जिल्लाको सबैभन्दा विकट ठाउँको रुपमा यो चिनिन्छ । राप्ती नगरपालिका–१२ एउराली टारस्थित गणेश माविमा आवासीय कक्षा सञ्चालन गरिएको छ । त्यहाँ १०४ जना बालबालिका आवासीय रुपमा बस्दै आएका छन् । 

न्यून सङ्ख्यामा तामाङ बालबालिका समेत भए पनि अधिकांश चेपाङ् छन् । यस्तै सोही नगरपालिका–१ महादेश टारमा रहेको विद्यालयमा आवासीय कक्षा सञ्चालन गरिएको छ । त्यहाँ परेवाकोटको माथिल्लो भूभागका चेपाङ् र तामाङ समुदायका बालबालिकाले आवासीय रुपमा अध्ययन गर्दै आएका छन् । 

यो विद्यालयमा आवासीय कार्यक्रम यसै शैक्षिक सत्रबाट सुरु गरिएको हो । हाल यहाँ ३८ जना बालबालिका अध्ययनरत छन् । विद्यालयभन्दा टाढा घर भएका बालबालिकालाई आवासमा राखेर पढाइएको हो । आर्थिक अभावका कारण विद्यालय जान समस्या भएका अति विपन्न परिवारलाई लक्षित गरी यो कार्यक्रम सञ्चालनमा ल्याइएको नगरप्रमुख लामाले जानकारी दिए ।

नगरपालिका वडा नं १०, ११, १२ र १३ पहाडी भूभागमा पर्दछ । वडा नं १ महादेवटारमा पहाडका बालबालिका ल्याएर आवासीय रुपमा पढाइएको हो । यो कार्यक्रम सुरु गरिएसँगै बीचमा विद्यालय छोड्ने क्रम घट्ने लामाको विश्वास छ । पहाडी भूभागमा अधिकांश चेपाङ समुदाय बसोबास गर्दछन् । आर्थिक अभावका कारण बिचैमा कक्षा छोड्दा उनीहरुको शैक्षिक अवस्था कमजोर छ ।