close

उच्चशिक्षा अध्ययन गर्नेलाई ५ लाखसम्मकाे कर्जा

उच्चशिक्षा अध्ययन गर्नेलाई ५ लाखसम्मकाे कर्जा

Trulli
ADVERTISEMENT

डडेल्धुरा-  परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीलाई कर्जा दिने भएको छ । नगरपालिकाले एसइई वा सोभन्दा माथिको शैक्षिक तह अध्ययन गर्न चाहनेलाई बिना ब्याजमा कर्जा दिने निर्णय गरेको हो । 

नगरपालिकाको १४औँ नगरसभाबाट प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखी बिना ब्याजमा रू पाँच लाखसम्म कर्जा दिन निर्णय भएको नगरप्रमुख जोशीले जानकारी दिए । उनका अनुसार यसै शैक्षिक सत्रबाट लागू हुनेगरी सो कर्जा उपलब्ध गराउने कार्य अघि बढाइएको छ । 

आर्थिक अभावमा उच्च शिक्षा अध्ययन गर्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई नगरपालिकाले बिनाब्याज शैक्षिक प्रमाणपत्र धितो राखेर उच्चशिक्षा अध्ययनका लागि ऋण दिने व्यवस्था गरेको प्रमुख जोशीको भनाइ थियो । यो निर्णयले भित्री मधेशका विद्यार्थी हर्षित बनेका छन् ।

१४औँ नगरसभाबाट शैक्षिक कर्जासम्बन्धीको ऐन पारित गरी उक्त निर्णय कार्यान्वयन गर्न लागिएको नगरप्रमुख जोशीले जानकारी दिए । उच्च शिक्षा अध्ययन गर्नका लागि प्रदान गरिने कर्जा लिनका लागि विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त वा सरकारबाट मान्यता प्राप्त हुनुपर्ने प्रावधान रहेको परशुराम नगरपालिकाले जनाएको छ ।

लक्षित समुदायका बालबालिकासहित लोपोन्मुख परिवार, विपन्न वर्ग र महिलाको शिक्षामा पहुँच बढाउन सहुलियतता प्रदान दिनेगरी नगरपालिकाले शिक्षामा लगानी गर्न लागेको जोशीको भनाइ थियो । उक्त कर्जा लिनका लागि विद्यार्थीले वडाकार्यालयमा निवेदन पेस गरी सिफारिस लिनुपर्नेछ ।

उक्त ऋण एक परिवारको एकजनाले मात्रै पाउनेछन् । उक्त कर्जा रकम शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको एक वर्षभित्र २५ प्रतिशत र दुुई वर्षभित्र ५० प्रतिशत, तीन वर्षभित्र ७५ प्रतिशत र चार वर्षभित्र सबै फिर्ता गर्नुपर्ने प्रावधान राखिएको छ । कर्जासम्बन्धी पारित भएको ऐन राजपत्रका प्रकाशित भएपछि चालु आर्थिक वर्षदेखि लागू गरिने नगरपालिका कार्यालयले जनाएको छ