close

फोहोर व्यवस्थापनमा राजनीतिक दलबाट अवरोध भयो : मेयर साह

फोहोर व्यवस्थापनमा राजनीतिक दलबाट अवरोध भयो : मेयर साह

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडाैं महानगरका मेयर बालेन साहले काठमाडौं महानगरको फाेहाेर व्यवस्थापनमा राजनीतिक दलहरूले अवराेध खडा गरेको आरोप लगाएका छन् । 

विभिन्न उल्झनपछि फोहोर फाल्न जाँदा सोमबार  अवराेध भएपछि सामाजिक सञ्जालमार्फत् मेयर साहले यस्तो बताएका हुन् । 

'फोहोर लैजाने कुरा आज पनि सहज भएन। सत्तारुढ दलहरूकै स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरू एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि साथ दिएको देखियो  । यद्यपि २०० भन्दा बढी प्रहरीको परिचालनबाट फोहोरका गाडीहरू बञ्चरेडाँडा लगियो। तर केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो। यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरू बञ्चरेडाँडा लैजान सकियो।'

राज्य संरचना नै फाेहाेर व्‍यवस्थापनमा लाग्दा पनि स्थानीयका नाममा विराेध भइरहनुलाई उनले यसकाे भित्री कारण राजनीतिक दलहरूकै चलखेल भएकाे संकेत गरेका छन्।

उनले भनेका छन्, 'केही दिन र केही समयबाट देखिइरहेको समस्या सतही मात्रै हो। यसका गहिरा र अलग्गै कारणहरू छन्। नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ?'

राजनीतिक दलहरूले आफ्ना स्वार्थका कारण उपत्यकाको फोहोर व्यवस्थापन गर्न अवरोध सिर्जना गरिरहेको उल्लेख गरेका छन्। तैपनि आफू दलहरूविरुद्ध नलागेको पनि उनले प्रष्ट्याएका छन्।

उनले भनेका छन्, ‘पुन: भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रो स्वार्थहरूको गर्नुपर्ने होइन, फोहोरको हो। आफ्ना कुत्सित स्वार्थहरूको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो। त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन। सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ।’