close

'क्वारेन्टाइन र आइसोलेसन नगरपालिकाको प्रयोग गर्नुहोस्'

'क्वारेन्टाइन र आइसोलेसन नगरपालिकाको प्रयोग गर्नुहोस्'

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसीले घरमा क्वारेन्टाइन र आइसोलेसन सहज उपलब्ध हुन नसक्नेले नगरपालिकाको क्वारेन्टाइन र आइसोलेसन प्रयोग गर्न आग्रह गरेका छन् ।


नगरप्रमुख केसीले भने, ‘घरमा क्वारेन्टाइन र आइसोलेसनको सहज व्यवस्थापन हुन नसक्नेले नगरपालिकाको क्वारेन्टाइन र आइसोलेसन निसंकोच प्रयोग गर्न आग्रह गर्दछौँ । अहिलेको परिस्थिति सुविधा भन्दा पनि सावधानी अपनाउने बेला हो, आफैँमाथि कठोरता प्रदर्शन गर्ने बेला र संक्रमणको मिलेर सामना गर्ने बेला हो भन्ने सबैले बुझौँ र बुझाऔँ ।’


नगरपालिकाको प्रयासलाई सार्थक बनाई आफू बाँच्न र अरूलाई पनि बचाउन सबै नागरिक जिम्मेवार भएर लाग्न उनले आग्रह गरे ।

उनले दैनिक बढिरहेको कोरोना संक्रमणबाट बच्न लुम्बिनी प्रदेशमा आईसीयू, भेन्टिलेटरलगायका स्वास्थ्य क्षेत्रमा रहेका पूर्वाधार निकै कमजोर भएको बताए ।

 
‘अस्पतालमा आईसीयूसमेत सुविधा उपलब्ध गराउन नसक्नु हाम्रा लागि दुखद् र पीडादायी कुरा के हुन सक्छ ?’, नगरप्रमुख केसी भन्छन्, ‘संक्रमित बिरामीले आईसीयू सेवाको अभावमा  अस्पतालमा बेड कहिले खाली होला भनेर कुर्नुपर्ने अवस्था छ । पालो नपाएर ज्यान जाने अवस्था सिर्जना भएको छ ।’

लकडाउन खुकुलो भएसँगै बाहिरबाट आएका र संक्रमित व्यक्तिको पूर्ण सूचना जति मिहिनेत गरे पनि सही समयमा प्राप्त हुन सकिरहेको छैन । यसले गर्दा संक्रमणको स्थिति झन भयवाह बन्दै गइरहेको छ ।