close

७ वटा अस्पताल बनायौं डाक्टर खै सरकार !

७ वटा अस्पताल बनायौं डाक्टर खै सरकार !

Trulli
ADVERTISEMENT

जुम्ला– संघीय सरकारले देशभरका स्थानीय तहलाई अस्थायी कोभिड अस्पताल निर्माणका लागि आवश्यक बजेट दिएपछि जुम्लामा पनि यस्ता अस्पताल बनेका छन् ।


हरेक स्थानीय तहले कोभिड अस्पताल निर्माण गरी एक एमबिबिएस डाक्टर, एक ल्याब टेक्निसियन, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी करारमा नियुक्त गरी सेवा सुचारु गर्न सक्छन् । तर, जुम्लामा स्थापना भएका कोभिड अस्पताल उपकरण डाक्टरबिनै सञ्चालनमा आएका छन् ।


जुम्लाका सात स्थानीय तहले अस्थायी कोभिड अस्पताल पनि निर्माण गरिसकेका छन् । चिकित्सकका लागि दुई÷दुई पटकसम्म सूचना आह्वान पनि गरे । तर, हालसम्म जुम्लासहित कर्णालीका दुर्गम जिल्लाका कोभिड अस्पतालमा एमबिबिएस डाक्टर आउनै मानेका छैनन् ।


विशेषज्ञ डाक्टर नआउँदा कोभिड अस्पतालका लागि चाहिने आवश्यक उपकरणको पनि व्यवस्थापन नभएको स्थानीय तहले जनाएका छन् ।


तिला गाउँपालिका स्वास्थ्य संयोजक गणेशबहादुर शाहीले कोभिड अस्पताल बनेपछि सञ्चालनको तयारी भए पनि विशेषज्ञ डाक्टर नपाएपछि समस्या देखिएको सुनाए । एमबिबिएस चिकित्सक नपाउँदा आवश्यक उपकरण पनि ल्याउन नसकिएको उनले जानकारी दिए ।


‘अक्सिजन, न्युलाइट, अक्सिजन मिटर, अक्सिजन सिलिन्डर, आइसियु तथा भेन्टिलेटरजस्ता उपकरण विशेषज्ञ डाक्टरबिना अरुले चलाउन नसक्ने हुँदा  हालसम्म खरिद गरेका छैनौं’, स्वास्थ्य संयोजक शाहीले भने ।


सरकारी मापदण्डअनुसार तलबभत्ता दिइने भने पनि दुर्गमका कोभिड अस्पतालमा चिकित्सक नआउँदा जटिल खालका बिरामीलाई समस्या देखिए उपचार मुस्किल हुने उनको तर्क छ ।


विकल्पका रुपमा कर्णाली स्वास्थ्य विज्ञानका चिकित्सक बोलाउने तयारी भइरहेको उनले बताए ।


तातोपानी गाउँपालिकाले गत ३ कात्तिकदेखि अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले दुई–दुई पटकसम्म सूचना निकाल्दा पनि एमबिबिएस डाक्टर पाउन सकेको छैन ।


तातोपानीका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागार्इं विशेषज्ञ डाक्टर नभए पनि दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी राखेर कोभिड अस्पताल सञ्चालन गरिएको बताउँछन् ।


उनले भने, ‘भेन्टिलेटर ल्याउनेबारे प्रदेशसँग समन्वय भइरहेको छ । तर, विज्ञ डाक्टर नआएसम्म उपकरण ल्याउनुको अर्थ छैन । जुम्लाका सबै कोभिड अस्पतालमा डाक्टर नआउँदा समस्या भएको छ ।’

 

अस्पतालमा सामान्य उपकरण भए पनि अत्यावश्यक पर्ने ठूला उपकरण दक्ष जनशक्तिबिनै ल्याएर सञ्चालन नसक्ने अवस्था रहेको चौलागार्इं बताउँछन् ।


सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले कोभिड अस्पतालको सबै तयारी पूरा भए पनि डाक्टर नपाउँदा  सञ्चालनमा समस्या रहेको बताए ।


‘दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टर आउनै मान्दैनन् । कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले कोभिड अस्पतालमा सरकारले नै डाक्टर पठाइदिने व्यवस्था गर्नुपर्छ’, रावलले भने ।


गुठिचौर गाउँपालिकाले पनि दुई पटक विज्ञापन आह्वान गर्दासमेत डाक्टर नपाएपछि कोभिड अस्पताल सञ्चालनमा अन्योल भएको छ । गाउँपालिका अध्यक्ष हरिबहादुर कुवँरका अनुसार स्टाफ नर्स, कार्यालय सहयोगीको पदपूर्ति भए पनि विशेषज्ञ डाक्टर नपाउँदा समस्या छ ।


‘कोभिड अस्पतालका लागि घर भाडामा लिइसकेका छौं । डाक्टर नपाइएपछि जटिल समस्या आइपरे प्रतिष्ठानलाई गुहार्नुको विकल्प छैन’, भण्डारीले भने ।


संघीय सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अनिवार्य अस्थायी कोभिड अस्पताल निर्माण गर्न सबै स्थानीय तहमा १० लाखका दरले बजेट पठाएको थियो ।


जुम्लाको चन्दननाथ नगरपालिकाबाहेक, सात स्थानीय तहलाई १० लाखका दरले ७० लाख बजेट दिइएको हो । कर्णाली प्रतिष्ठान नगरपालिकाभित्र परेकाले यहाँ कोभिड अस्पताल बनाइएको छैन ।