close

त्रियुगाको समन्वयमा उदयपुर सिमेन्टले बनायो १५ बेडको आइसोलेसन 

त्रियुगाको समन्वयमा उदयपुर सिमेन्टले बनायो १५ बेडको आइसोलेसन 

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा उदयपुर सिमेन्ट उद्योगले अक्सिजनसहितको १५ बेडको आइसोलेसन तयार गरेको छ । उद्योगले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अक्सिजन सिलिन्डरसहित १५ बेडको आइसोलेसन तयार गरेको हो । 

 

त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरीमा रहेको स्वास्थ्य केन्द्र र वडा नम्बर १६ सुकौरामा रहेको स्वास्थ्य केन्द्रमा ५–५ वटा अक्सिजन सिलिन्डर राखेर आइसोलेसन तयार गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुर र त्रियुगा नगरपालिकाको संयुक्त पहलमा आइसोलेसन तयार पारिएको हो ।

 

कोरोनाका बिरामीलाई लक्षित गरी अक्सिजन सिलिन्डरसहित आइसोलेसन तयार गरिएको उदयपुर सिमेन्ट उद्योग जलजलेले जनाएको छ । सुकौरामा ५ र देउरीमा १० बेडको आइसोलेसन तयार गरिएको उदयपुर सिमेन्ट उद्योगका बिक्री विभाग प्रमुख रामबहादुर जिसीले जानकारी दिए ।

 

होम आइसोलेसनमा बस्न असहज भएकालाई लक्षित गरी संस्थागत आइसोलेसन निर्माण गरिएको त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले जानकारी दिए । सो आइसोलेन उदयपुर सिमेन्ट उद्योग जलजलेको परिसरमै रहेको छ ।

 

त्रियुगाको वडा नम्बर ५ देउरीमा रहेको आइसोलेसन उद्योगको प्लान्ट नजिक छ भने वडा नम्बर १६ सुकौरामा निर्माण गरिएको आइसोलेसन उद्योगको चुनढुंगा खानी भएको स्थानमा छ । कोभिडबाट उद्योगको कर्मचारी बिरामी भए पहिलो प्राथमिकता उनीहरूलाई दिइने त्रियुगा नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख अबधनारायण चौधरीले बताए ।

 

त्यसैगरी दुवै स्वास्थ्य केन्द्रलाई प्रशासनमार्फत ५–५ लिटर स्यानिटाइजर, २५० पिसका दरले मास्क र ५–५ वटा अक्सोमिटर प्रदान गरिएको छ ।