close

संक्रमित घरमै बसेपछि स्थानीय सरकारले बनाएका आइसोलेसन रित्तै

संक्रमित घरमै बसेपछि स्थानीय सरकारले बनाएका आइसोलेसन रित्तै

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँको भीमाद नगरपालिकामा १७४ जना कोरोनाका सक्रिय संक्रमित छन् । तीमध्ये ४ जना संक्रमित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसनमा छन् । बाँकी सबै होम आइसोलेसनमा ।

 

नगरपालिकाले भीमाद बजारस्थित भीमाद प्राथमिक स्वास्थ्य केन्द्रमा बनाएको ५ बेडको आइसोलेसन छ । तर, यहाँ १ जना पनि संक्रमित नरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

 

यो आइसोलेसनमा १० वटा अक्सिजनका सिलिन्डर व्यवस्थापन गरिएको छ । भिडियो एक्सरे सुविधासमेतको आइसोलेसन होल्डिङ सेन्टरको रूपमा मात्रै प्रयोग हुँदै आएको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत मुनिराज बराल बताउँछन् । ‘यहाँ केही समय संक्रमितलाई राखिन्छ । हेल्डिङ सेन्टरको रूपमा सञ्चालन भएको छ’, उनले भने, ‘अलि राम्रो अवस्था छैन भने उता जिपीतिर पठाइन्छ ।’ 

 

सामान्य स्वास्थ्य अवस्था भएकालाई होम आइसोलेसनमै राख्ने गरेको बरालले जानकारी दिए । संक्रमितलाई होम आइसोलेसनमा राख्दा संक्रमण झनै बढाएको उनी स्वीर्काछन् । उनी भन्छन्, ‘यसमा दुईमत छैन । राज्य र स्थानीय तहले नसकेर मात्रै हो । होम आइसोलेसनले कोरोना संक्रमणको चेन ब्रेक गर्न सक्ने स्थिति छैन ।’

 

बन्दीपुर गाउँपालिकाले पनि बन्दीपुर अस्पतालमा १५ बेडको आइसोलेसन बनाएको छ । आवश्यकताअनुसार ३० बेड बनाउन सकिने यहाँ हाल आइसोलेसनमा बस्ने कोही छैनन् । 

 

स्वास्थ्य कार्यालय तनहुँको तथ्यांकमा ५३ जना बन्दीपुरे संक्रमित होम आइसोलेसनमा छन् । ‘नर्मल केस भएका कारणले हो । अक्सिजन दिनुपर्नेलाई अस्पतालको आइसोलेसनमा भर्ना गर्ने गर्छौं’, गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले भने ।

 

गाउँपालिकामा होम आइसोलेसनमा राख्दा पनि कोरोना नियन्त्रण गर्न सकिएको उनी दाबी गर्छन् । ‘संक्रमण देखिएपछि एक घरबाट अर्को घरमा मान्छे गएनन् । प्रत्यक्ष संक्रमितलाई भेटेर निगरानी गर्दै आएका छौँ,’ उनले भने । 

 

बन्दीपुर र भीमादको मात्रै हैन, जिल्लाका ७ वटै स्थानीय तहका आइसोलेसन रित्तै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँको तथ्यांकले देखाउँछ । व्यास, ऋषिङ र घिरिङका आइसोलेसनमा मात्रै संक्रमित बसेको उक्त तथ्यांकले पुष्टि गरेको छ ।

 

शुक्लागण्डकी र भानु नगरपालिकासहित म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । जटिल अवस्थाका एकाध भने पोखरा र चितवनका अस्पतालमा उपचाररत रहेको अनुमान छ । 

 

तनहुँका १० वटै स्थानीय तहमा २ हजार १ सय ८७ जनामा दोस्रो लहर सुरु भएयता कोरोना पोजेटिभ पुष्टि भएको छ । तीमध्ये ९ सय ३९ निको भएका छन् । ६४ जनाको मृत्यु हँुदा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ८४ छ । 

 

तीमध्ये आइसोलेसनमा ७४ जना रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार व्यास नगरपालिकाको आइसोलेसनमा ३०, दमौली अस्पतालको आइसोलेसनमा ११, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा २७, ऋषिङकोमा ४ र घिरिङकोमा २ जना संक्रमित उपचाररत छन् ।

 

तनहुँका १० स्थानीय तह र २ अस्पतालमा १ सय ९५ बेडको आइसोलेसन तयार छ । दमौली अस्पतालमा ७ आइसियु र ४ भेन्टिलेटर छन् । जिपीमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट ल्याएर २ भेन्टिलेटर चलाइएको छ । जिल्लाभर ३ सय १६ सिलिन्डर र २९ एम्बुलेन्स संक्रमितको उपचारका लागि जोहो गरिएको छ । 

 

बन्दीपुर गाउँपालिकासँगै देवघाट गाउँपालिकाले पनि संक्रमितलाई घरमै गएर भेट्ने गरेको छ । शुक्लागण्डकीका केही वडाले पनि यो अभियान चलाएका छन् ।

 

होम आइसोलेसनमा बसेकालाई अधिकांश स्थानीय तहले निरीक्षण गर्न सकेका छैनन् । केही स्थानीय तहका जनप्रतिनिधि संक्रमितको घर–घरै पुगेर उनीहरूको अवस्था निरीक्षण गरे पनि नियमित नहुँदा प्रभावकारी भने भएको छैन । 

 

स्थानीय जनप्रतिनिधिसँगै टोल विकास संस्था, परिवारका सदस्यले पनि होम आइसोलेसनमा बस्ने संक्रमितको निगरानी राख्नुपर्ने भीमादका जनस्वास्थ्य अधिकृत बरालको सुझाव छ ।

 

सीमित स्रोत–साधनमा आफूहरू संक्रमितको घर–घरमा पुग्न नसकेको उनले बताए । तर, फोनबाटै भए पनि संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने, परामर्श दिएर मनोबल उच्च बनाउन काम भइरहेको उनको दाबी छ ।