close

रुपन्देहीमा एक लाख ४५ हजार बालबालिकालाई कोरोनाविरुद्धको खोप

रुपन्देहीमा एक लाख ४५ हजार बालबालिकालाई कोरोनाविरुद्धको खोप

Trulli
ADVERTISEMENT

रुपन्देही । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले शनिबारदेखि ५-११ वर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउने भएको छ । दुई चरणमा लगाइने खोपको सम्पूर्ण तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए।

रुपन्देहीमा १० लाख ८७ हजार कुल जनसंख्या रहेकोमा ५-११ वर्ष उमेर समूहका एक लाख ४४ हजार ८५५ जनालाई खोप दिइने लक्ष्य रहेको स्वास्थ्यकार्यलयको तथ्याक छ । कार्यालयका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लाका १६ वटा पालिकामा ९६६ वटा खोप केन्द्र तय गरिएको छ । खोपको लागि एक हजार ५२ जना खोप कार्यकर्ता र एक हजार ८९२ जना स्वयम सेवक परिचालन गरिनेछ ।

रुपन्देहीमा पहिलो चरणमा असार ११ गते देखि तिलोत्तमा नगरपालिका, लुम्बिनी नगरपालिका, देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकामा खोप दिइनेछ । 

यस्तै बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, गैडहवा गाउँपालिका, सियारी गाउँपालिका, शुद्धोधनगाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका र मायादेवीगाउँपालिकामा १५ गतेदेखि खोप दिइने छ ।

५ देखि ११ वर्षका बालबालिका विद्यालयमा नै रहने कारणले विद्यालयलाई नै खोप केन्द्र तोकिएका छ । रुपन्देहीलाई पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रमले लक्ष्यभन्दा बढी खोप लगाउनुमा सहयोग गरेको शर्माको भनाइ छ । 

अहिले सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका, मर्चवारी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिका गरी ७ वटा पालिका पूर्णखोप घोषणा भइसकेका छन् ।