close

हैजा र कोरोनाको संक्रमण न्यूनीकरणका लागि उच्च सतर्कता : निर्देशक दास

हैजा र कोरोनाको संक्रमण न्यूनीकरणका लागि उच्च सतर्कता : निर्देशक दास

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा हैजा संक्रमित फेला परेको एक महिना २२ दिन पूरा हुँदा संक्रमितको संख्या बढ्दो क्रममा छ । 

अहिलेसम्म काठमाडौं उपत्यकामा २३ हैजा संक्रमित भेटिइसकेका छन् । प्रदूषित पानीको कारणले हैजाको सङ्क्रमण भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताएका छन् । 

उनी पालिका खबरसँग भन्छन् ‘पानीको परीक्षण गरिएकामध्ये अधिकतम नमुना प्रदूषित पाइएका छन् । प्रदूषित पानीमा इकोली र कोलीफोरमको जीवाणू भेटिएका हुन् ।’ उनका अनुसार इनार, ट्याङ्कर, चापाकल, ट्युबेल आदी स्रोतका पानी प्रदूषित छन् । धारा र जारका पानी पनि कतिपय धेरै स्थानमा प्रदूषित भेटिएका हुन्। 

महाशाखाले पानीको गुणस्तरीयताको निगरानी गरिरहेको छ । यस्तै, खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले जारको पानीको अनुगमन गरेर यसको शुद्धता जाँचिरहेको छ । परीक्षण गर्दा देखिएका प्रदूषित पानीको व्यवस्थापन गर्न खानेपानी मन्त्रालयले केमिकलको प्रयोग गरेर शुद्धिकरण गरिरहेको छ । 

साथै बिरामीको उपचार र निगरानी पनि महाशाखाले गरिरहेको छ । अधिराज्यभरिका ११८ ओटा  र काठमाडौंका सबै अस्पतालले बिरामीको रिपोर्टको बारेका स्वास्थ्य विभागलाई जानकारी गराउँछन् । ‘हाल सबै अस्पतालमा एक्युड वाटरी डाइरियाको परीक्षण भइरहेको छ । यसको परीक्षणबाट कोलेरा र अन्य झाडापखालाको बारेमा थाहा पाउन सकिन्छ ,’ उनले भने ।  

अहिले खानेपानी मन्त्रालयले पानीमा क्लोरिनको मात्रा दोब्बर बनाइएको छ । ट्याङकरहरूलाई अनुगमन गर्ने र क्लोरिन बाँड्ने काम गरिरहेको चुमनलाल दास बताउँछन् । परीक्षण गर्दा प्राय सबै पानी प्रदूषित रहेको पाइएको उनले बताए । 

महामारीको लागि खट्ने जनशक्ति सँधै तयारी अवस्थामा रहन्छन्। र्‍यापिड रेस्पोन्स टिम प्रत्यक स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रीय तहमा रहेका हुन्छन् । उनीहरूले आफ्नो क्षेत्रबाट नागरिकलाईसमेत सचेत बनाउने काम गर्छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रकोप नियन्त्रणको पूर्वतयारी गरेका हुन्छन्  । औषधिको बफर स्टक राख्ने तयारी अनुसार औषधी राखिएको हुन्छ । महामारी मात्र नभई प्राकृतिक प्रकोपको पनि उनीहरूले नै जिम्मेवारी लिएका हुन्छन् । 

अस्पताललाई पनि तयार पारिएको हुन्छ  । देशभरका २५ ओटा हब हस्पिटल रहेका छन् । जसमा उपत्यकाको सिभिल हस्पिटल, वीर अस्पताल, टिचिङ हस्पिटल, पाटन अस्पताल छन् । उनीहरूको  हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरमार्फत् हब हस्पिटललाई सेमिनार गरिएको छ । केही दिन अघि मात्र बैठक बोलाएर हब हस्पिटलले गर्ने काम, जनशक्तिको तयारी र इमर्जेन्सि मेडिकल टिम तयार पार्न र औषधीहरू तयारी राख्न निर्देशन दिइएको छ । 

हैजाको व्यवस्थापन एक पक्षबाट मात्र गरेर सम्भव छैन । उसका लागि धेरै सरोकारवाला निकायको समन्वयमा रोकथाम र व्यवस्थापनको प्रयास भइरहेका छन् । खानेपानी, खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग, स्थानिय सरकार, स्वास्थ्य कार्यालय सबै निकायको भुमिका महत्वपूर्ण हुन्छ । र उनीहरूले आफ्नो तर्फबाट काम पनि गरिरहेका छन् ।

पानी उमालेर र क्लोरिनको प्रयोग गरेर मात्र पिउनुपर्छ । बाहिरबाट जाने पानी शुद्धीकरण भएर पुग्दा पनि नेपाल स्वास्थ्य, शिक्षा, सुचना तथा सञ्चार केन्द्रले सञ्चार माध्यमबाट चेतनामुलक सन्देश पुर्‍याइरहेको छ । 

पछिल्लो दिनहरूमा कोरोनाको सङ्क्रमित बढिरहेका छन् । यो चिन्ताको विषय बनेको छ । भारतमा पनि कोरोनाको केश बढीरहेको छ । खुल्ला सिमानाको कारण यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । त्यसैले नाकामा कडाई गर्न थालिएको छ । अहिले स्वास्थ्यका मापदण्ड पालनामा नागरिकलाई थप कडाई गर्नुपर्ने देखिएको छ । खोपको सम्पूर्ण मात्रा नागरिकले लगाउनु आवश्यक छ । तिन पटक महामारी भोगिसकिएको छ । अस्पतालहरू महामारी फैलियो भने पनि तयारी अवस्थामा रहेको महाशाखाका निर्देशक दासको भनाइ छ । 

अक्सिजन सिलिण्डर र कन्सर्नटेटरहरू अस्पतालमा पुगिसकेका छन् । एच्डियू र आईसियू बनिसकेका छन् । कोरोना मात्र नभई बर्खा याममा आउने सम्पूर्ण महामारीको सामना गर्न तयार रहेको स्वास्थ्य विभागले जनाएको छ । 

अब कोरोना परीक्षणको दर बढाउनु पर्ने उनले बताए । जनताले कोभिडको शङ्का लागेमा टेस्ट गरिहाल्नु पर्छ । कोभिड नेपालमा ओमिक्रोनको नयाँ स्वरुप बिएफाइभ दुई जना बिरामिमा देखिइसकेको छ  । यो कति खतरनाक भन्ने जानकारी थाहा नभइसके पनि छिटो सर्ने भएकाले सचेत रहनु आवश्यक छ । 

हैजा फैलने सम्भावना रहेकाले विश्व स्वास्थ्य सङ्गठन र यूनिसेफले सहयोग गर्दै आएको छ । सरकार र नागरिकको सहकार्य भएमा महामारी रोकथाम गर्न सजिलो हुनेछ । 

इनार र ट्युबेलको पानी शुद्धीकरण घरमा नै गर्नुपर्ने भएकाले आफै सचेत भएर क्लोरिन प्रयोग गरेर पानी खान चिकित्सकको आग्रह छ । प्रदूषित पानीले तरकारी र फलफूल पखाल्दा मात्रै पनि त्यसको जिवाणू सर्न सक्छन् । जबसम्म नागरिक सचेत हुँदैन तबसम्म हैजा नियन्त्रण गर्न सम्भब नरहेको महाशाखाका निर्देशक दास बताउँछन् ।