close

तनहुँका स्थानीय तहको पहिलो प्राथमिकता डेंगु

तनहुँका स्थानीय तहको पहिलो प्राथमिकता डेंगु

Trulli
ADVERTISEMENT

काठमाडौं । तनहुँका स्थानीय तहले  डेंगु नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहले नियन्त्रणमा जुटेका हुन् ।

सदरमुकामस्थित व्यास नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि शनिबारदेखि ‘खोज र नष्ट गर’ अभियान सुरुवात गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणपछि अहिले पुनः डेङ्गुको जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । 

‘कोभिड सङ्क्रमण विस्तारै अन्त्य हुने क्रममा छ, फेरि डेङ्गुले दुःख दिन थाल्यो,’उनले भने, ‘हरेक विपद् समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध छ ।’

डेङ्गु नियन्त्रणका लागि लामखुट्टेले फुल पार्ने ठाउँ खोजी गरेर नष्ट गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

‘लामखुट्टेले फुल पार्न सक्ने सम्भावित स्थान जस्तै पानी जमेको ठाउँ, टायरमा जमेको पानीलाई नष्ट गर्ने अभियान सुरुआत गरेका छौँ,’उनले भने, ‘प्रत्येक वडामा जनप्रतिनिधिको नेतृत्वमा यो अभियान सुरु भएको छ ।’

‘सबै जागौँ, सबै लागौँ: वरिपरि जमेको पानी हटाई डेङ्गु भगाऔँ’ नाराका साथ सुरु अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सङ्घसंस्था, शिक्षकलाई परिचालन गरिने जनाइएको छ । व्यास नगरपालिकाले मोटरसाइकल वर्कसपमा राखिएका टायरमा जम्मा भएको पानी फाल्नुका साथै सचेतना प्रदान गरेको छ ।

आँबुखैरेनी गाउँपालिकाले पनि डेङ्गुबाट बच्नका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले सतर्कताका लागि गाउँपालिकाले यो अभियान सुरु गरेको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । डेङ्गुको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिकार्य योजना बनाइ विभिन्न गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै गाउँपालिकाले प्रदेश र जिल्लासँगको समन्वयमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।

‘डेङ्गु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्रायः दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ,’उनले भने, ‘यसबाट जोगिनका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य गरिएको छ ।’

यस्तै प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ । यस अभियान कार्यान्वयका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्यस्वयंसेविका, शिक्षक, पत्रकार, सङ्घसंस्था, टोलविकास समितिलाई परिचालन गरिएको छ ।