close

मध्यविन्दु अस्पतालमा  डायलासिस सेवा सञ्चालन

मध्यविन्दु अस्पतालमा  डायलासिस सेवा सञ्चालन

Trulli
ADVERTISEMENT

नवलपरासी । नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु गरेको छ । जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्ने गरी आवश्यक उपकरण जडान तथा परीक्षण पश्चात डायलासिस सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए। 

मङ्गलबार एक औपचारिक कार्यक्रमकाबीच गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङले सेवाको उद्घाटन गरेका हुन् । जिल्ला अस्पतालबाट अब मिर्गौैला रोगीहरूले निःशुल्क रुपमा सो सेवा प्राप्त गर्न सकिने उनले बताए ।  जिल्ला अस्पतालमा सो सेवा प्रदान गर्न चार वटा उपकरण जडान गरिएको छ । 'एक दिनमा अस्पतालमा १२ जनासम्मलाई यो सेवा प्रदान गर्न सकिने उनले सुनाए । हाल तीनवटा मात्रै उपकरण सञ्चालन गरिएको छ,' उनले भने । 

अहिले प्रारम्भिक चरणमा रहेकाले दैनिक तीन जना सम्मलाई सेवा प्रदान गरिने उनले बताए । 'अहिले एक सिफ्ट मात्रै चलाएका छौँ, यसैले तीन जनालाई डायलासिस सेवा प्रदान गर्न सक्छौँ, आवश्यकता अनुसार सिफ्ट बढाउँदै जाँदा थप सेवा प्रदान गर्न सकिन्छ', सूचना अधिकारी सुवेदीले भने । एउटा उपकरणलाई भने जगेडामा राखेर तीन वटाबाट सेवा दिइने उनले बताए । 

यसअघि उपकरण आए पनि लामो समयसम्म सेवा सुरु हुनसकेको थिएन । बीमा बोर्डबाट अनुगमन गरी निःशुल्कमा सूचीकृत गराउन भन्दै अस्पतालमा उपकरण जडान र परीक्षणको काम सकेर पनि सेवा सुरु हुनसकेको थिएन । अहिले बीमा बोर्डबाट अनुगमन नभए पनि अस्पतालको सामाजिक सेवा युनिटबाट लाग्ने खर्च बेहोर्ने गरी सेवा सुरु गरिएको हो ।

 'सेवाग्राहीलाई निःशुल्क सेवा प्रदान गर्न हाल सामाजिक सेवा युनिटबाट खर्च बेहोर्ने गरी काम सुरु गरेका छौंँ', सुवेदीले भने, 'बीमा बोर्डबाट अनुगमन गरी निःशुल्कमा सूचीकृत गर्ने काम बाँकी छ ।' असार महिनाको अन्तिमतिर आवश्यक सबै तयारी पूरा गरी जिल्ला अस्पतालबाट सेवा दिने तयारी गरिएको थियो । तर निःशुल्कमा सूचीकृत नगरी सेवा दिँदा सःशुल्क गर्नुपर्ने भएकाले सेवा सुरु गर्न समस्या परेको थियो ।