close

गाउँमै पौष्टिक आहार उत्पादन गरिँदै

गाउँमै पौष्टिक आहार उत्पादन गरिँदै

Trulli
ADVERTISEMENT

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार (सर्वोत्तम पिठो) गाउँमै उत्पादन गर्ने तयारी भएको छ । 

सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले स्थानीयस्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम आयोजना गरेको हो । 

सात दिनसम्म सञ्चालन हुने तालिममा ३५ जनाको सहभागिता रहेको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले जानकारी दिए । पुस १ गतेदेखि तालिम सञ्चालन भएको थियो । पच्चीस जनाको कोटा भए पनि लक्ष्यभन्दा बढी सङ्ख्यामा सहभागी गराइएको उनले बताए । 

सामाजिक विकास कार्यालयको सक्षम महिला, समानान्तर पाइला कार्यक्रममार्फत रु दुई लाख बजेटबाट सो तालिम सञ्चालन गरिएको हो । गहुँ, मकै र भटमासको पिठोलाई मिश्रण गरेर घरमै सर्वोत्तम पिठो बनाउने ज्ञान सीप प्रदान गर्न तालिम आयोजना गरिएको हो । 

तालिमको सुआहार कार्यक्रमका पोषणविज्ञ राजेन्द्र अधिकारी र बालकुमारी पुनले सहजीकरण गरे । तालिम अनुगमनका क्रममा आइतबार घारमा पुगेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले पिठो उत्पादनका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। 

जङ्कफुडको आयात घटाउने, व्यावसायिकरुपमा उद्यम सञ्चालन गरेर रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउने, आर्थिकरुपमा सक्षम र उद्यमशीलताको विकास गराउने उद्देश्यले तालिम सञ्चालन गरेको मिलनका कार्यकारी निर्देशक बिटालुले बताए । 

सर्वोत्तम पिठो छ महिना उमेर पुगेका बच्चाको लागि उपयुक्त पौष्टिक आहार मानिन्छ । स्थानीयस्तरमा ज्ञान सीप नहुँदा बच्चाले मन पराउने सर्वोत्तम पिठो बजारबाट खरिद गर्दै आएका छन् । सीप भएपछि घरमै उपलब्ध कृषिउपजको प्रयोग गरेर सर्वोत्तम पिठो बनाउन सकिने स्थानीय महिलाले बताएका छन् ।