close

उपचारका लागि सदरमुकाम पुग्नुपर्ने नरैनापुरवासीको बाध्यता

उपचारका लागि सदरमुकाम पुग्नुपर्ने नरैनापुरवासीको बाध्यता

Trulli
ADVERTISEMENT

बाँके- नरैनापुर गाउँपालिकावासीलाई अहिले पनि गुणस्तरीय स्वास्थ्य सेवाका लागि सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ । 
जिल्लाको विकट क्षेत्रका रूपमा रहेको नरैनापुर गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवाका लागि आवश्यक उपकरणको व्यवस्था हुन नसक्दा जनताले स्थानीय तहमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरू लागिपरे पनि आवश्यक उपकरण खरिद गर्न आर्थिक अभाव भएकाले चाहेजति स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको बताए । “नरैनापुरमा कुनै प्रकारको आन्तरिक स्रोत नरहेकाले पनि आर्थिक समस्या भएको छ”, उनले भने, “जनतालाई गाउँपालिकामै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्रदेश र सङ्घीय सरकारसँग बजेटको माग गरेका छौँ ।”

बाँकेको राप्ती नदीपारि भारतसँग जोडिएको नरैनापुर गाउँपालिकावासी जनता अहिले पनि स्वास्थ्य परीक्षणका लागि भारतीय सहर वा ४६ किलोमिटरको दूरीमा रहेको सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको नरैनापुर–६ का सोहनलाल यादवले बताए ।

नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा संयोजक नगेन्द्रकमार शाहले नरैनापुरमा ४६ हजार दुई सय जनसङ्ख्या रहेकामा यो आर्थिक वर्षमा ६६६ जना सुत्केरी र एक हजार २१५ गर्भवती रहेको जानकारी दिए । उनका अनुसार नरैनापुरमा अहिले एउटा प्राथमिक स्वास्थ्य केन्द्र र ६ वडामा प्रसूतिगृहसहितका स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ ।