close

‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ ९ हजार जना लाभान्वित

‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ ९ हजार जना लाभान्वित

Trulli
ADVERTISEMENT

चितवन- भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग ‘मेयर स्वास्थ्य कार्यक्रम’बाट नौ हजारबढी नागरिक लाभान्वित भएका छन् । नगरका २९ वडामा सञ्चालित उक्त कार्यक्रमबाट अपाङ्गता भएका, अशक्त तथा ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित भएका जनाइएको छ ।

भरतपुर महानगरको स्वास्थ्य शाखाको प्रारम्भिक प्रतिवेदनअनुसार ६० प्रतिशत ज्येष्ठ नागरिकमा मधुमेह, उच्च रक्तचाप, दम, मानसिक स्वास्थ्य सम्बन्धी रोग देखिएको छ । अभियानमा चिकित्सक र स्वास्थ्यकर्मी टोलटोलमा पुगेर प्रयोगशालासहित सेवा दिएका थिए । यसका लागि एक सय दुईजना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । 

हालसम्म नौ हजार ४१८ जनाको स्वास्थ्य परीक्षण गरिएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए । स्वास्थ्य जाँचबाट बिरामीले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरे पनि काम गरेरनगरेको बारे पुनः परीक्षण नगरेको पाइएको उनले बताए ।

कतिपयमा मधुमेह तथा उच्च रक्तचाप रोग भए पनि जानकारी नभएकोसमेत पाइएको अधिकृत भट्टले बताए । स्वास्थ्य जाँचपछि ज्येष्ठ नागरिक, अपाङ्गता तथा अशक्तलाई मधुमेह, उच्च रक्तचापका सुरुवाती चरणमा दिइने औषधि दिएको छ । औषधिसँगै जीवनशैली र खानपानबारे परामर्श पनि दिइएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खुसी र सुखी भरतपुर निर्माण गर्न समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको बताए। भरतपुरवासीलाई प्रत्यक्ष महसुस हुने गरी घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराइएको उनकाे भनाइ छ । 'जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने उद्देश्यले महानगरका सबै वडामा अभियान चलाएकोे हो', उनले भने ।

गत मङ्सिर २० गते भरतपुर वडा नं २४ बाट उक्त अभियान सुरु भएको थियो । स्वास्थ्य जाँचबाट समस्या देखिएका बिरामीको थप उपचारका लागि शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्यचौकीमा व्यवस्था मिलाइएको थियो । अभियान माघ मसान्तसम्म सञ्चालन गरिने महानगर स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए। 

अभियानले भरतपुरमा रहेका ज्येष्ठ नागरिक, अपाङ्गता तथा अशक्तको वास्तविक स्वास्थ्य अवस्थाको तथ्याङ्क सङ्कलन गरेकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्ययोजना बनाउँदा धेरै सहयोग पुग्ने उनको भनाइ छ । उक्त कार्यक्रमका लागि महानगरले स्वास्थ्य विज्ञका रुपमा फिजिसियन डा भोजराज अधिकारीलाई नियुक्त गरेको थियो ।