close

'गर्भवती महिलाको घरमा झण्डा, हातमा अन्डा' प्रभावकारी

'गर्भवती महिलाको घरमा झण्डा, हातमा अन्डा' प्रभावकारी

Trulli
ADVERTISEMENT

नुवाकोट– दुप्चेश्वर गाउँपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी गराउने गर्भवती महिलाको संख्या बढेको छ । गाउँपालिकाले ‘गर्भवती महिलाको घरमा झण्डा र हातमा अण्डा कार्यक्रम’ सञ्चालन गरेपछि संस्थागत सुत्केरी गराउने गर्भवती महिला बढेका हुन् । 

विगत ४ वर्षदेखि गाउँपालिकाले ‘गर्भवती महिलाको घरमा झण्डा र हातमा अण्डा’ कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य संयोजक वाशुदेव श्रेष्ठले बताए । गर्भवती महिलाको पोषण अवस्था सुधार तथा बच्चाको उचित वृद्धि विकासमा मद्दत पुर्याउने हेतुले सो कार्यक्रमको सुरुवात गरिएको हो । 

गर्भवतीले आठ पटक स्वास्थ्य संस्थामा जाँच गराउनु पर्ने उनले बताए । उनका अनुसार प्रत्येक पटक गर्भजाँच गर्दा एक क्रेट अण्डा पालिकाका स्वास्थ्य संस्थाबाट उपलब्ध गराइन्छ । गर्भवतीलाई प्रोटिनको मात्रा धेरै चाहिने भएकाले पोषणमा सहयोग गर्न अण्डा उपलब्ध गराइएको हो ।

गर्भवती महिला पहिलोपटक स्वास्थ्य संस्थामा गर्भजाँच गराउन जाँदा नेपालको झण्डा उपलब्ध गराइन्छ । सो झण्डा घरमा राख्ने र स्वास्थ्य स्वयंम सेविकालाई गर्भवतीको पहिचान गर्न सहज भएको स्वास्थ्य संयोजक श्रेष्ठले बताए ।

गाउँपालिकाभित्र कम्तिमा एकपटक गर्भजाँच गर्ने गर्भवती शत प्रतिशत रहेको उनले बताए । ‘४ पटक गर्भजाँच गर्ने गर्भवती महिला ७० प्रतिशत छन्,’ उनले भने ।  स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या बढेको उनले पालिकाखबरलाई बताए । 

स्वास्थ्य संयोजक श्रेष्ठले भने, ‘पहिले कार्यक्रम सुरु गर्दा स्वास्थ्य संस्थामा सुत्केरी हुने गर्भवती महिलाको दर १९ प्रतिशत थियो । अहिले गाउँपालिकाभित्र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको दर ८० प्रतिशत पुगेको छ ।’ पालिकाभित्रका स्वास्थ्य संस्थामा ४४ प्रतिशत गर्भवतीले सुत्केरी गराउने र पालिका बाहिरका स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेको उनले जानकारी दिए । ७ वटा वडा रहेको दुप्चेश्वर गाउँपालिकामा ८ वटा बर्थिङ सेन्टर सञ्चालित छन् । 

अन्धविश्वास, दुर्गम भेग भएकाले भौगोलिक विकटताका कारण स्वास्थ्य संस्थामा सुत्केरी हुने गर्भवती महिला शत प्रतिशत पु¥याउन चुनौती बनेको स्वास्थ्य संयोजक श्रेष्ठले बताए । ‘स्वास्थ्य स्वयंसेविका गएर स्वास्थ्य संस्थामा सुत्केरी गराउन सल्लाह दिनुहुन्छ ।’ स्वास्थ्य संस्थामा सुत्केरी गराउन सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए । 

सुत्केरी भइसकेपछि पनि आमा र बच्चाको स्वास्थ्य अवस्थाको विषयमा गाउँपालिकाले जानकारी लिने गरेको उनले बताए । ‘दुई पटक स्वास्थ्य कर्मी गएर आमा र बच्चाको स्वास्थ्य जाँच गर्नुहुन्छ,’ स्वास्थ्य संयोजक श्रेष्ठले बताए ।