close

चाँगुनारायणका साढे १८ हजार बालबालिकालाई खोप लगाइँदै

चाँगुनारायणका साढे १८ हजार बालबालिकालाई खोप लगाइँदै

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिकाले ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई यही फागुन १३ गतेदेखि दादुरा-रूबेला विरूद्वको खोप लगाउने भएको छ । सरकारले फागुन दोस्रो सातादेखि देशभरि सञ्चालन गर्ने अभियानअन्तर्गत नगरपालिकाभित्र पनि खोप लगाउने गरी तयारी तीव्र बनाइएको चाँगुनारायण स्वास्थ्यश शाखाले जनाएको छ । 

दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि फागुन २२ गतेसम्म खोप लगाइने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले बताए । खोपका लागि नगरपालिकाले अभिमुखीकरण कार्यक्रमलाई तीव्र बनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा यसअघिनै पालिकाका ११ वटा स्वास्थ्य संस्थाका प्रमुख र स्वास्थ्य शाखका कमर्चारी अभिमुखीकरणमा सहभागी भएका थिए । 

त्यस्तै, नगर स्वास्थ्य समितिको आयोजनामा मंगलबार नगरस्तरीय खोप समितिका पदाधिकारी, खोपकर्ता र सरोकारवालालाई अभिमुखीकरण गरिएको थियो । मंगलबारको अभिमुखीकरणको सहजीकरण खोप अधिकृत शान्तिराख खतिवडाले गरेका थिए । खोप अधिकृत खतिवडाले खोप अभियानको महत्व र सञ्चालन कार्यविधिबारे सहजीकरण गरेका थिए । 

यता, वडा स्तरीय खोप समन्वय समितिको आयोजनामा ३ दिनसम्मको अभिमुखीकरण जारी छ । मंगबारदेखि जारी सो अभिमुखीकरण भोलि सम्पन्न हुनेछ । प्रत्येक वडामा आयोजना भइरहेको कार्यक्रममा ७० वटा विद्यायका प्रधानाध्यपकहरू, २४० जना स्वास्थ्य स्वयंसेविका, १६० स्वास्थ्यकर्मी र सरोकारवालाहरू सहभागी छन् ।

नगरपालिकाको अनुसार दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा ८० वटा खोप केन्द्रबाट १८ हजार ६९२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । चाँगुनारायणलाई ३ वर्षअघि नै पूर्ण खोप सुनिश्चित घोषणा गरिसकिएको छ ।