close

गम्भीर प्रकृतिका ६७ जना बिरामीको उपचारमा गाउँपालिकाको सहयोग

गम्भीर प्रकृतिका ६७ जना बिरामीको उपचारमा गाउँपालिकाको सहयोग

Trulli
फाइल तस्विर
ADVERTISEMENT

अर्घाखाँची– छत्रदेव गाउँपालिकाले उपचारका लागि सिफारिस माग गर्दा फोटोसहितको निवेदन अनिवार्य पेस गर्न अनुरोध गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै विपन्न नागरिकले उपचारमा सहयोगका लागि पालिकासँग सिफारिस माग गर्दा ३ वटा फोटोसहित निवेदन पेश गर्न आग्रह गरेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रअनुसार गाउँपालिकाले उपचारका लागि सिफारिस दिएका नागरिकको विवरण  प्रत्येक महिना सूचना पाटीमा सार्वजनिक गर्न निर्देशन दिएकाले फोटोसहित निवेदन पेश गर्न अनुरोध गरेको हो ।

विपन्न बिरामीलाई नियमित स्वास्थ्य उपचारका लागि गाउँपालिकाले सिफारिस दिँदै आएको गाउँपालिकाका स्वास्थ्य शाखाका बुद्धिराम न्यौपानेले बताए । मृगौला, क्यान्सर, मुटु राेग, अल्जाइमरलगायतका बिरामीलाई सिफारिस गर्ने गरेको उनले पालिकाखबरलाई जानकारी दिए ।  गाउँपालिकाभित्रका मृगौला प्रत्यारोपनका बिरामीलाई ४ लाख रुपैयाँ र अन्य बिरामीको हकमा १/१ लाख रुपैयाँसम्म सिफारिस गर्ने गरेको उनले सुनाए ।

बिरामीको सिफारिस गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखसहितको तीन सदस्यीय समितिको निर्णयबाट हुने गरेको उनले बताए । गाउँपालिकाले ६७ जना बिरामीलाई औषधि उपचारका लागि सिफारिस गरिसकेको उनले जानकारी दिए ।

पछिल्लो समय पालिकामा क्यान्सरका बिरामी बढिरहेका छन् । हाल गाउँपालिकामा ४५ जनामा क्यान्सर पुष्टी भएको र उनीहरुको उपचारमा गाउँपालिकाले सहयोग गरिरहेको उनले बताए ।