close

व्यवस्थित बन्दै बाग्लुङ नगर

व्यवस्थित बन्दै बाग्लुङ नगर

Trulli
ADVERTISEMENT

बाग्लुङ - बाग्लुङ बजारमा जथाभावी टाँगिएका तार र पोल हटाउने अभियान सुरु भएको छ । बाग्लुङ नगरपालिकाले चोकसुधार कार्यक्रममार्फत विद्युत् र टेलिकमका पुराना पोल एवं अव्यवस्थित तार हटाउने अभियान चलाएको हो । 


विद्युत् प्राधिकरणको बाग्लुङ वितरण केन्द्र र नेपाल टेलिकम बाग्लुङ शाखाले पनि अभियानको रुपमा तार हटाउने काम थालेका थिए । केही स्थानमा विवाद भएपछि नगरपालिकाले पोल र तार हटाउन थालेको हो ।


सडक ढलान गरिएको, नाली निर्माण भएको र चोक फराकिलो भइसक्दा पनि पुराना पोल एवं तार हटाउन नसकेकै कारण जोखिम बढेको थियो । नगरपालिकाले जनपतिनिधिकै रोहबरमा यो अभियान थालेको हो ।

 

शिवधारा चोकबाट यो अभियान थालिएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘नगरपालिकालाई सुन्दर र सफा बनाउने उद्देश्यअनुसार यो काम गरिएको हो,’ पौडेलले भने, ‘अब बजारमा गुजुल्टा तार देखिने छैनन् ।’


टेलिकमले फाइबर प्रणालीमार्फत टेलिफोन र इन्टरनेटको सेवा दिएको छ । विद्युत् प्राधिकरणले केबुलीकरण गरेर नांगो तार विस्थापित गरिसकेको छ । यसरी व्यवस्थापन गर्दा पुराना गुजुल्टा पनि हटाउने योजना ल्याएको थियो ।


कतिपय स्थानमा निजी क्षेत्रका केबुल टेलिभिजन र अन्य इन्टरनेटप्रदायक संस्थाका तार असरल्ल छन् । ‘कर राजस्व पनि नतिरेका संस्थाको तार काटिदिन अप्ठेरो भएन तर जनताको सेवा अवरुद्ध हुन्छ भनेर ढिला गरेका हौं,’ नेपाल टेलिकमका शाखा प्रमुख केशव शर्माले भने, ‘अब भने हामीले सफाइ अभियान चलाइरहेका छौं ।’

 

उच्च अदालत बाग्लुङले दुई वर्षअघि नै जथाभावी टाँगिएका नांगा तार हटाएर केबुलीकरण गर्न आदेश दिइसकेको छ ।  टेलिकमका गुजुल्टा तारले पनि दुर्घटना बढाएको, नगर कुरुप देखिएको आरोप लाग्दै आएको थियो । 


अभियानले नगर क्षेत्रलाई सुन्दर बनाउने काममा साथ मिल्ने बानपा–२ का सदस्य अर्जुन घिमिरेले बताए । ‘नगरपालिकाले थालेको यो काम राम्रो छ,’ घिमिरेले भने, ‘ट्राफिक व्यवस्थापनमा पनि यसले सहज हुनेछ ।’ कतिपय चोकमा सवारी साधन मोड्न पनि नमिल्ने गरी पोल थिए । 


शनिबारदेखि सुरु गरिएको अभियानमा केहीले अवरोध गरेर पोल हटाउन र नयाँ स्थानमा गाड्न दिएका थिएनन् ।


जनप्रतिनिधि, प्राविधिक र स्थानीय अगुवाको पहलमा अव्यवस्थित पोल हटाएर सुरक्षित स्थानमा सारिएको हो । नगरपालिकाले अव्यवस्थित ५ सय पोलको व्यवस्थापन गर्ने योजना बनाएको पौडेलले बताए ।