close

बजेट विनियोजन गरिएपछि वडामा लगाइएको ताला खुल्यो

बजेट विनियोजन गरिएपछि वडामा लगाइएको ताला खुल्यो

Trulli
ADVERTISEMENT

डडेल्धुरा - अमरगढी नगरपालिका– १ को वडा कार्यालयमा लगाइएको ताला खोलिएको छ । दलित समुदायका लागि विनियोजन गरिएको रकम केही सीमित व्यक्तिहरूले पाएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको थियो ।

 

छुटेका परिवारहरूलाई पनि बजेट विनियोजन गरिएपछि ताला खोलिएको वडा कार्यालयले जनाएको छ । अमरगढी नगरपालिका– १ मालम गाउँमा ३० परिवारलाई बाख्रा पालनका लागि एक लाख रुपैयाँ विनियोजन गरिएको थियो । सुरुमा एक लाख रुपैयाँ विनियोजन गरेपछि रकम कम भएको भन्दै दलित वस्तीमा विरोध भएको थियो । 

 

३० परिवार रहेको सार्की टोलमा १२ जनाले मात्र बाख्रा पालनका लागि रकम पाएका थिए । अन्य १८ परिवार छुटाई दलित अगुवाहरूले मात्र योजना पाएको भन्दै विरोध भएको थियो । उक्त योजनामा पछि डेढ लाख रुपैयाँ थप गरी अढाई लाख रुपैयाँ बनाइएको वडा अध्यक्ष लोकबहादुर ऐरले बताए । 

 

यसअघि सोमबार बिहान लक्षित वर्गको रकम पहुँचवालाको हातमा पुगेको भन्दै अमरगढी नगरपालिका– १ को कार्यालयमा तालाबन्दी गरिएको थियो । 

 

वडाले विनियोजन गरेको एक लाख रुपैयाँ गाउँका टाठाबाठाहरूले किर्ते हस्ताक्षर गर्दै ३० हजार रुपैयाँ पेस्की बुझेको स्थानीयको गुनासो थियो । बाँकी ७० हजार रुपैयाँ भुक्तानीका लागि नगरपालिकामा सिफारिस गरिएको स्थानीय धनबहादुर सार्कीले बताए ।

 

सार्की टोलका १८ परिवारहरू पनि बाख्रा पालन गर्न इच्छुक भएपछि बजेट थप्ने सहमति भएको थियो । यसै बीचमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएर बजेट आउनमा ढिलाइ भएपछि उनीहरूले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

 

अहिले थप गरिएको रकम उपलब्ध गराई सार्की समुदायका ३० परिवार सबैलाई बाख्रा वितरण गर्ने योजना अघि बढाउन लागिएको अध्यक्ष ऐरले बताए । पहिले छनोट गरिएका १२ परिवारलाई बाख्रा वितरण गरिसकिएको छ । अब १८ परिवारलाई बाख्रा वितरण गरिने उनले बताए ।

 

बाख्रा पालन योजनाअनुसार एउटा परिवारलाई वडाका तर्फबाट एउटा बाख्रा दिइनेछ । एउटा बाख्रा स्थानीय स्वयंले खरिद गरी खोर बनाई पालन गर्नुपर्नेछ ।