close

धनगढीका व्यवसायी भन्छन् : उपमहानगरले विस्थापित गर्न खोज्यो

धनगढीका व्यवसायी भन्छन् : उपमहानगरले विस्थापित गर्न खोज्यो

Trulli
ADVERTISEMENT

धनगढी । उपमहानगरपालिकाले विकल्प नदिई सडक संरचना हटाउन भनेको भन्दै व्यवसायीले विरोध जनाएका छन् । उपमहानगरपालिकाले व्यवसायीलाई विस्थापित गर्ने प्रयास गरेको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

उपमहानगरपालिकाले असोज मसान्तभित्र कैलालीपुलदेखि क्याम्पस रोडसम्मका सडकको ३० मिटर क्षेत्रभित्र पर्ने भौतिक संरचना खाली गर्न भदौ १३ गते सूचना जारी गरेको थियो । 

तर, अहिलेसम्म व्यवसायी तथा घरधनीले भौतिक संरचना हटाउन थालेका छैनन् । कैलाली उद्योग वाणिज्य संघले सो सडक संरचनाभित्र पर्ने व्यवसायीहरूसँग आइतबार छलफल गरेको थियो । छलफलमा व्यवसायीले कोभिड महामारीका कारण व्यवसाय नै धरापमा परेका बेला उपमहानगरपालिकाको निर्णयले व्यवसायी विस्थापित हुने अवस्था आउने बताए ।

धनगढीको मुख्य बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका टेकलाल श्रेष्ठले व्यवसाय घाटामा जाँदा बैंकको ब्याज तिर्न पनि नकिरहेको बताए ।

उनले भने, ‘सरकारको अहिलेको नयाँ मौद्रिक नीतिले लयमा फर्कन लागेको व्यवसाय थप मारमा रहेको छ ।बैंकको ब्याज नै तिर्न नसक्ने अवस्थामा रहेको यस समयमा उपमहानगरपालिकाले जारी गरेको सूचनाले व्यवसायीलाई समस्या भइरहेको छ ।’ 

उनले व्यक्तिको कुनै पनि घरमा क्षति नहुने गरी सडक विस्तार गर्ने कार्यमा सहयोग गर्ने बताए ।
मुख्य बजारमा व्यवसायी गरिरहेका विनोदकुमार शाहले उपमहानगरपालिकाले आफूखुसी केही व्यक्तिको स्वार्थमा परेर व्यवसायीहरूलाई दुःख दिने काम गर्न लागेको आरोप लगाए ।
‘भत्किने घर पछाडि रहेका घर धनीहरू सडकको संरचना ३० मिटर नै हुनुपर्छ भनिरहेका छन् । व्यक्तिको स्वार्थमा परेर उपमहानगरपालिकाले व्यवसायीलाई कुनै विकल्प नदिई गलत कदम अघि बढाएको छ,’ उनले भने ।
उनका अनुसार उपमहानगरपालिकाले कार्यपालिकाको बैठकमा कुनै निर्णय नगराई एक्कासि पत्रपत्रिकामार्फत् सूचना जारी गराएको थियो । 

उनले भने, ‘कुन कानुनमा रहेर सडक संरचनाको क्षेत्राधिकार ३० मिटर तोकिएको हो ? कार्यपालिका बैठकबाट निर्णय नगराएर व्यवसायीहरूलाई धम्काउने गरी संरचना खाली गर्न भनी समयावधि दिइएको छ । त्यो मान्य हुँदैन ।’

उपमहानगरपालिकाले सूचना जारी गरेदेखि केही व्यापारी तथा घरधनीले विभिन्न चरणका बैठक बसाएका थिए । तर, व्यवसायी र घरधनीहरू एकमत नभएको कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश लम्सालले बताए । 

‘घरधनीहरू व्यवसायीको पक्षमा केही सहमति गरेर आउँछन् कि भनेर संघ कुरेर बसेको थियो । तर, घरधनीहरूले सहकार्य नगरेपछि व्यवसायीको पक्षमा संघले आवाज उठाउनुपर्ने आवश्यक देखिएको हो,’ उनले भने ।

व्यवसायी ईश्वरप्रसाद खतिवडाले उपमहानगरपालिकाले बजेटको सुनिश्चितता नै नगरी सूचना जारी गरेको गुनासो गरे । 

‘सडकको ३० मिटर खाली गर भनेर सूचना जारी गरेको छ । घरधनीले घर भत्काउलान् तर, सडक बनाउन स्रोतको त आवश्यक पर्छ । त्यसबारे अहिलेसम्म टुङ्गो लागेको छैन । यसले संरचना भत्काए पनि सडक बन्छ भन्ने ग्यारेन्टी समेत भएन,’ उनले थपे ।

उपमहानगरपालिकाले सो सडक आफ्नै स्रोतमा निर्माण गराउने दाबी गरिरहेको छ । तर, विभिन्न क्षेत्रबाट सहयोग भने अहिलेसम्म पाइरहेको छैन । सडक निर्माण गर्दा बजेट अभाव देखिने निश्चित रहेको उनको भनाइ छ ।

व्यवसायी टेकेन्द्र जोशीले उपमहानगरपालिकाले सडक मिचिएको क्षेत्र हटाउनमा ध्यान नदिई मुख्य सडक चौडा गर्ने नाममा व्यवसायीलाई पीडा दिन खोजिरहेको बताए । 

‘उपमहानगरपालिकाले सूचना जारी गरेपश्चात् मुख्य बजारका व्यवसायीहरूलाई उधारोमा सामान थप्न समस्या भइरहेको छ,’ उनले भने, ‘सडक भत्किन्छ । तिमीहरूको व्यवसाय सकियो भन्दै सहकारी तथा बैंकहरूले एकमुष्ट रकम तिर्न पत्र पठाइरहेका छन् । एकातिर व्यवसायीले सामान पाएका छैनन् भने अर्कोतिर बैंक तथा सहकारीको असुली आर्थिक मारमा पारिरहेको छ ।’

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले उपमहानगरपालिकाका निर्णय व्यवसायीमैत्री बन्न नसकिरहेको बताए । उनले प्लाष्टिकजन्य सामग्री निषेध, व्यवसायीसँग छलफलै नगरी सडक संरचनामा परेका भौतिक संरचना खाली गर्न जारी गरिएको सूचनालगायत उपमहानगरपालिकाको गतिविधि व्यवसायीमैत्री नरहेको बताए ।

उनले संघका पदाधिकारीले पहिलो चरणमा उपमहानगरपालिकाका प्रमुख गोपाल हमालसँग बसेर छलफल तथा ध्यानाकर्षण गराउने बताए । उनले भने, ‘नगर प्रमुखसँग निर्णय सच्याउन भनी आग्रह गर्छौँ । त्यसपश्चात् उनको गतिविधि जसरी अघि बढ्छ, संघले पनि त्यहीअनुसार कदम चाल्छ ।’