close

बुटवलको बसपार्कमा निशुल्क वाईफाइ, शौचालय र पिउने पानी

बुटवलको बसपार्कमा निशुल्क वाईफाइ, शौचालय र पिउने पानी

Trulli
ADVERTISEMENT

बुटवल ।  बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) व्यवस्थित गर्न निर्देशन दिएका छन् । 

बसपार्कको सरसफाई, खानेपानी, विश्रामस्थल व्यवस्थित गर्न, बसपार्कभित्रका अनुमति विना निर्माण भएका संरचना हटाउन नगरप्रमुख पाण्डेयले निर्देशन दिएका हुन्  ।

नगरप्रमुखको निर्देशनअनुसार अबदेखि बसपार्कभित्रको शौचालय सुविधा र पिउने पानीको सुविधा निशुल्क हुने भएको छ । 

बसपार्कभित्र भीडभाड बढ्ने गरी राखिएका ठेला र अन्य व्यवसाय हटाउने, विश्रामस्थल निर्माण गर्ने, निशुल्क वाईफाई सुविधा जडान गर्ने काम अघि बढाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए । 

‘बसपार्क एकदमै अव्यवस्थित र फोहोर भएकोले यसलाई व्यवस्थित गर्दै आवश्यक सुविधाहरु थप गर्नका लागि प्रमुखज्यूले निर्देशन दिनुभएको छ, उनले भने, अब बसपार्कलाई सफा र सुन्दर बनाउने काम अघि बढेको छ ।’

उनका अनुसार बसपार्कभित्र सुरक्षाका लागि सीसीटीभी जडान गर्ने, विश्रामस्थलमा दुईवटा टेलिभिजन सेट राख्ने, नियमित सरसफाइ गर्ने व्यवस्था मिलाइनेछ । 

यसअघि बुटवल उपमहानगरपालिकाले दशैंलाई लक्षित गरेर बसपार्कमा स्वास्थ्य सहायता कक्ष स्थापना गरी यात्रु तथा यातायात मजदुर, सुरक्षाकर्मीको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो ।