close

इएफटीमा इन्द्रको जुक्ती : घरमा पुगेर नगदै भत्ता

इएफटीमा इन्द्रको जुक्ती : घरमा पुगेर नगदै भत्ता

Trulli
ADVERTISEMENT

मकवानपुर- सरकारले सामाजिक सुरक्षा वितरणमा विद्युतीय भुक्तानी प्रणाली (इएफटी) अनिवार्य गरे पनि इन्द्रसरोबर गाउँपालिकाले घरघरमा पुगेर वृद्धवृद्धालाई नगदै भत्ता वितरण गर्दै आएको छ ।

नेपाल सरकारले गत असोजमा देशभरका सबै स्थानीय तहलाई पत्राचार गर्दै इएफटी लागु गर्न आग्रह गरेको थियो । सो प्रणाली लागु नगरे सामाजिक सुरक्षा भत्ता जम्मा नहुने उर्दीनै जारी गरेको थियो । नेपाल सरकारको सोही नीति लागु भएसँगै देशभका सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीको चालु आवको दोस्रो किस्ता जम्मा हुने क्रममा छ । 

इएफटी प्रणालीमा गाउँपालिकाले लाभग्राहीको नामावली अध्यवधिकमात्र गर्छ । सरकारले सिधै कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत प्रत्यक्षरूपमा सेवाग्राहीको खातामा रकम पठाउने गर्छ । यस प्रणालीमा भत्ता रकम पालिकाको खातामा नआउने र पालिकाले भत्ता रकम पठाउनु नपर्ने व्यवस्था छ । 

इन्द्रसरोबरमा कसरी क्यास भत्ता ?

इन्द्रसरोबर गाउँपालिकाले इएफटी प्रणाली सुरक्षित भए पनि वृद्धवृद्धा र अपाङ्गजस्ता लाभग्राहीका लागि सहज नहुने भन्दै घरघरमै पुगेर भत्ता वितरण गर्ने शिविर सञ्चालन गरिरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार यस कार्यममा पालिकाको बैंकले ठूलो भूमिका छ । किनभने सामाजिक सुरक्षभत्ता पाउने सेवाग्राहीको खातामा पैसा गइसकेको हुन्छ । लाभग्राहीले बैंकलाई शिविरमा चेक दिन्छ भने बैंकले त्यसबापतको क्यास दिएर घरमै सेवा दिइरहेको गाउँपालिकाले जनाएको छ। 

आइएमइ ग्लोबल बैंक इन्द्रसरोबर शाखाका प्रबन्धक शंकर मोक्तानका अनुसार यो कार्य बैंक लागि झंझटिलो भए पनि गाउँपालिकाको आग्रहमा सेवा दिइएको हो । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने शिविरमा स्वयं पनि खटेको उनले पालिकाखबरलाई सुनाए । शाखा प्रबन्धक मोक्तानका अनुसार कुन वडामा शिविरमा जान लागेको त्यो सबै लाभग्राहीको एकदिन अघिनै सबै खाता रुजु गरिनेछ । खाता खोल्दा ल्याप्चे लगाएकाहरूको हकमा सेवाग्राहीको रकम भरेर चेकमा ल्याउचे लगाउने गरिन्छ । यता हस्ताक्षरवालाको हकमा भने हस्ताक्षरको फोटो खिचेर फिल्डमा फोटो र चेकको हस्ताक्षर भिडाएर भत्ता दिइन्छ । दिउँसो शिविरमा काटिएका सबै चेक बेलुका बैंकमा फर्केर भुक्तानी गरिने बैंकले जनाएको छ । 

गाउँपालिकाले गत माघ १५ गतेदेखि प्रत्येक वडामा शिविर राखी भत्ता वितरण गर्दै आएको फिल्ड सहायक राजकुमार लामाले बताए । उनका अनुसार पहिलो दिन वडा नम्बर ५ का १५७ जनाले सेवा लिएका थिए । दोस्रो दिन अर्थात हिजो वडा नम्बर-४ का ११५ जनाले सेवा लिएका थिए भने आज वडा नम्बर-१ का ११३ जनाले सेवा लिएका फिल्ड सहायक लामाले बताए । गाउँपालिकाका अनुसार भोलि वडा नम्बर ३ र पर्सि शुक्रबार वडा नम्बर २ मा शिविर सञ्चालन हुनेछ ।