close

मधेश प्रदेश सरकारको बजेटमाथि छलफल सुरु

मधेश प्रदेश सरकारको बजेटमाथि छलफल सुरु

Trulli
ADVERTISEMENT

मधेश प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७९/०८० को बजेटमाथि छलफल प्रारम्भ भएको छ । प्रदेशसभाको बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथिको छलफल प्रारम्भ भएको हो । 

आजको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष ०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि समान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले समग्रमा बजेट प्रदेशलाई नयाँ आयाम दिने किसिमको भएको र यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । 

प्रदेशसभा सदस्य रामआशिष यादवले यसवर्षको बजेटमा प्रदेशलाई समृद्ध बनाउने महत्त्वपूर्ण र नयाँ योजनाहरूलाई प्राथमिकता दिइएको उल्लेख गर्दै यसपालिको बजेटमा अबण्डा नराखिनु बजेटको सकारात्मक पक्ष भएको टिप्पणी गरे । 

‘‘पहिला पहिला बजेटमा अबण्डा राखिन्थ्यो”, प्रदेशसभा सदस्य यादवले भने, ‘‘तर यसपालिको बजेटमा अबण्डा राखिएको छैन, जुन बजेटको सकारात्मक कुरा हो ।” यसबाट आर्थिक पारदर्शिता र सुशासन कायम गर्न मद्दत पुग्ने उनको भनाइ थियो । 

प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले प्रदेशलाई विकास र समृद्धिको बाटोमा डोर्‍याउन मद्दत पुग्ने खालको बजेट भएको भन्दै बजेटले सबै धर्म, भाषाभाषी, संस्कृतिलाई सम्बोधन गरेको बताए । 

दलित समुदायको सशक्तीकरणका लागि बजेट विनियोजन गर्नु सकारात्मक भए पनि दलितभित्रका खास केही जातलाई मात्र समेटिएको भन्दै त्यसलाई सुधार गरी जातको नभई आर्थिक विपन्नताका आधारमा योजनामा समेट्नुपर्ने सुझाव दिए । 

प्रदेशसभा सदस्य परमेश्वर साहले बजेटमा उल्लेख गरिएका कतिपय योजनाहरुमा रकम प्रस्ट नपारिएकोले बजेट कार्यान्वयमा शङ्का उब्जाएको बताए । चालु आर्थिक वर्षको पूँजीगत खर्च निराशाजनक रहेको अवस्थामा आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउनु कार्यान्वयनको दृष्टिकोणले चुनौतीपूर्ण देखिएको उनले उल्लेख गरे ।

गत असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री साहले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।