close

घरैमा पुगेर भत्ता बाँड्दै फिक्कलका जनप्रतिनिधि

घरैमा पुगेर भत्ता बाँड्दै फिक्कलका जनप्रतिनिधि

Trulli
ADVERTISEMENT

सिन्धुली- यहाँको फिक्कल गाउँपालिकाले जेष्ठ नागरिकलाई घरैमा पुगेर भत्ता बाँड्दै आएको छ । चाडपर्व नजिकिँदै गर्दा गाउँपालिकाले टोलटोलमा पुगेर भत्ता बाँड्ने अभियान चलाएको हो ।


जिल्लाका अरू स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आए पनि फिक्कलले भने कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै घरैमा पुगेर भत्ता बाँड्ने अभियानलाई निरन्तरता दिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताइन् । भौगोलिक विकटताका कारण बैंकसम्म पुगेर भत्ता प्राप्त गर्न जेष्ठ नागरिकलाई समस्या सिर्जना भएको भन्दै वडा कार्यालयमार्फत हातैमा नगद दिइँदै आएको उनको भनाइ छ ।


हालसम्म ५ र ६ नम्बर वडाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले भत्ता बुझिसकेका र वडा नं. १, ३, ४ मा वितरण भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।


गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण भइरहेका वडाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरूले आफ्नो टोलमा भत्ता वितरण कहिले हुन्छ भन्नेबारेमा आफ्नो वडामा बुझन आग्रह गरेको छ । वडाबाटै पैसा वितरण गरिए पनि गाउँपालिकाले त्यस कार्यको अनुगमन गरिरहेको उपाध्यक्ष सुनुवारले बताइन् ।


फिक्कलमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने एक हजार २०० व्यक्तिलाई यसअघि नै वितरण गरिसक्नुपर्ने भए पनि बैंकले पैसा दिन ढिलाइ गर्दा भत्ता वितरणमा पनि ढिलाइ भएको उनको भनाइ छ । चाडपर्व नजिकिँदै गर्दा हातमा पैसा पाएपछि जेष्ठ नागरिकहरू खुसी भएका छन् ।