close

मादी गाउँपालिकाको आफ्नै एम्बुलेन्स

मादी गाउँपालिकाको आफ्नै एम्बुलेन्स

Trulli
ADVERTISEMENT

कास्की– कास्कीको मादी गाउँपालिकाले आफ्नै एम्बुलेन्स खरिद गरेको छ । स्थानीयको उपचार सहज बनाउन गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो ।


गाउँपालिकाको कोषबाट ११ लाख लागतमा एम्बुलेन्स खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए । उनका अनुसार यो एम्बुलेन्स सरकारबाट भन्सार छुटमा ल्याइएको हो ।


एम्बुलेन्स चलाउन पालिकाले छुट्टै कार्यविधि बनाएको छ । ‘हामी आफंैले चलाउने हो । यसका लागि कार्यविधि बनेको छ’, उनले भने, ‘जतिसक्दो कम शुल्कमा नागरिकलाई सेवा दिने योजना छ ।’


मादी कास्कीका पालिकामध्ये सबैभन्दा विकटमा पर्छ । कार्यविधिअनुसार एम्बुलेन्स प्रयोग गर्दा बिरामीले कच्ची बाटोमा प्रतिकिलोमिटर २ सय र पक्की बाटोमा १ सय २५ रुपैयाँ तिर्नुपर्नेछ ।


यसअघि अरु एम्बुलेन्सले प्रतिकिलोमिटर ३ सय रुपैयाँसम्म लिँदै आएका थिए । ‘निःशुल्क दिन सक्ने अवस्था छैन । दुरुपयोग पनि बढी हुन सक्छ’, सापकोटाले थपे, ‘थोरै शुल्कमा सबैलाई सुविधा दिन एम्बुलेन्स खरिद गरिएको हो ।’


कोरोना अवधिभर गाउँपालिकाले छुट्टै गाडी भाडामा लिएको छ । प्रतिमहिना १ लाख भाडा तिर्ने गरी लिइएको गाडी एम्बुलेन्स आएपछि फिर्ता हुनेछ । मादीमा यसअघि सिक्लेसमा छुट्टै एम्बुलेन्स छ भने लम्जुङको क्होंलासोंथर र मादीले संयुक्त रुपमा अर्को एम्बुलेन्स चलाएका छन् ।


निःशुल्क बिरामी बोक्दा चैत र वैशाखमा मात्रै पालिकाले ४ लाख रुपैयाँ एम्बुलेन्स खर्च भुक्तानी दिएको थियो । आफैंले एम्बुलेन्स खरिद गरेपछि अब त्यो झन्झट नहुने गाउँपालिकाले जनाएको छ ।


अहिलेको एम्बुलेन्स अघिल्लो आर्थिक वर्षमै खरिद प्रक्रिया सुरु भए पनि लकडाउनका कारण ढिलो आई पुगेको हो । बिहीबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको गाउँपालिका प्रमुख वेदबहादुर गुरुङले जानकारी दिए ।


उनका अनुसार एम्बुलेन्स चलाउन पालिकाले आफ्नै चालक राख्नेछ । छुट्टै कोष खडा गरेर एम्बुलेन्स चलाइनेछ । एम्बुलेन्स नहुँदा अहिलेसम्म कोही बिरामी हुँदा पोखराबाट एम्बुलेन्स लैजानुपर्ने बाध्यता थियो । अव त्यो बाध्यता हट्ने अध्यक्ष गुरुङले बताए ।


‘कोही बिरामी भयो कि पोखरामा फोन गर्नुपथ्र्यो । उताबाट एम्बुलेन्स आएर बिरामी लैजाँदा मृत्युसम्म हुने अवस्था हुन्थ्यो’, उनले भने, ‘अब त्यो अवस्था रहँदैन । पालिकामै एम्बुलेन्स राख्ने र कसैलाई चाहिए तत्काल उपलब्ध गराउन सकिन्छ ।’


केही समयअघि कास्कीको रुपा गाउँपालिकालाई भारतीय दूतावासले एम्बुलेन्स सहयोग गरेको थियो ।