close

सरकारी अस्पतालको दशा : आईसीयू  छ तर चलाउन जान्ने डाक्टर छैनन्

सरकारी अस्पतालको दशा : आईसीयू  छ तर चलाउन जान्ने डाक्टर छैनन्

Trulli
ADVERTISEMENT

उदयपुर - कोरोनाको जोखिम बढ्दै गएपछि उदयपुर जिल्ला अस्पताल गाईघाटमा एक करोड भन्दा बढी लगानी गरेर निर्माण गरिएको  भेन्टिलेरसहित पाँच बेडको आईसीयू कक्ष प्राविधिक जनशक्तीको अभावमा प्रयोग विहिन बनेको छ ।


कोरोना बिषेश अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले निकासा गरेको एक करोडको लागतमा बल्लतल्ल तिन महिनापछि अस्पतालमा दुई ओटा भेन्टिलेर सहित पाँच बेडको आईसीयू कक्ष निर्माण त भयो तर, जनशक्तिको अभावमा सञ्चालनमा आउन नसक्दा उपकरण सहित तयार पारिएको आइसियू कक्ष प्रयोग विहिन बन्न पुगेको हो । 


जिल्ला अस्पतालमा हाल कार्यरत चिकित्सकहरुमा भेन्टिलेटर सहितको आईसीयू कक्ष सञ्चालन गर्ने ज्ञान नहुँदा जिल्ला अस्पतामा आउने बिरामीहरुले सो सुविधा सहितको उपचार सेवा कहिलेदेखि पाउने हुन् भन्ने कुनै टुङ्गो छैन ।  आईसीयू कक्ष सञ्चालनका लागि कम्तीमा एक जना एनेस्थेसिया डाक्टर, चार जना मेडिकल अफिसर र आठ जना आईसीयू सञ्चालनको लागि तालिम प्राप्त स्टाफ नर्सको आवश्यक हुन्छ । तर, त्यति धेरै जनशक्ति हाल अस्तालमा नभएको उदयपुर अस्पतालले जनाएको छ । 


जिल्ला अस्पतालमा दरबन्दी अनुसारको बिषेशज्ञ डाक्टर छैनन् । भएका मेडिकल अफिसर र नर्सलाई तालिममा पठाएर काम चलाउने गरेको बताउँछन्, अस्पतालकै एक डाक्टर । भएका जनशक्तिलाई तालिममा पठाएर भएपनि आईसीयू सञ्चालन गर्ने तयारी गरेपनि कोरोना महामारीका कारण तालिममा पठाउन पनि नसकिएको जिल्ला अस्पताल उदयपुरका निमित्त अस्पताल प्रमुख जिवनारायण मण्डलले बताए । 


उदयपुर जिल्ला अस्पताललाई १० बेड क्षमताको आईसीयू कक्ष स्थापना र सञ्चालनका लागि प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयबाट पाँच लाख पुनः निकासा दिने निर्णय पनि भएको छ । तर, आईसीयू कक्ष सञ्चालन गर्नसक्ने चिकित्सकहरुको भने व्यवस्थापन गर्न नसकिने सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले पालिका खबरलाई जानकारी दिए