close

शुक्लागण्डकीको बजार क्षेत्रमा लकडाउन

शुक्लागण्डकीको बजार क्षेत्रमा लकडाउन

Trulli
ADVERTISEMENT

तनहुँ - कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा तीब्र गतिमा फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा लकडाउनको घोषणा गरेको छ । 


बुधबार दिउँसो बसेको नगर कार्यपालिका बैठकले बुधबार राती १२ बजेदेखि आगामी मंगलबार रातीसम्म लकडाउन गर्ने घोषणा गरेको हो । यस अवधिमा नगर क्षेत्रमा राजमार्गसँग जोडिएको बजारसँगै ढोरफिर्दी र साँखे बजार पनि बन्द रहने नगर प्रवक्ता खिमबहादुर कुमालले बताए ।  


कुमालका अनुसार अत्यावश्क सेवामा पर्ने स्वास्थ्य, सरसफाइ र विपद् व्यवस्थापनबाहेक बैंक तथा वित्तीय संस्था, सामाजिक संघसंस्था, सार्वजनिक र निजी संस्थान, उद्योग, कलकारखाना र यातायातले दिने सेवा बन्द हुनेछन् । 


‘पूर्वनिर्धारित कक्षा ११ को परीक्षा भने सञ्चालन हुनेछ । यद्यपि, परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना हुनुपर्नेछ’, प्रवक्ता कुमालले भने । नगरपालिका र वडा कार्यालयबाट अत्यावश्यक सेवा प्रवाह हुने उनको भनाइ छ ।


नगरपालिकाले अत्यावश्क कामबाहेक घरबाट बाहिर ननिस्कन नगरवासीलाई सचेत गराएको छ । मास्क लगाउने, समूहमा हिँडडुल नगर्ने, भौतिक दूरी कायम गर्ने र धार्मिक तथा सामाजिक कार्यका लागि भेला नहुन भनिएको छ ।


शुक्लागण्डकीको मुख्य व्यापारिक केन्द्र दुलेगौँडा बजारमा कोरोनाको संक्रमण भित्रभित्रै फैलिएपछि जनस्तरबाट लकडाउन गर्न आवाज उठिरहेको थियो ।


स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार शुक्लागण्डकीमा १४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ११० जना कोरोनामुक्त भएपछि हाल सक्रिय संक्रमितको संख्या ३६ छ । यहाँ दुई जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । 


उता, जिल्लाकै म्याग्दे गाउँपालिका पनि मंगलबारदेखि बन्द छ । कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारसम्म गाउँपालिकाको कार्यालय, वडा कार्यालय, गाउँपालिका क्षेत्रमा सञ्चालित संस्थागत र सामुदायिक विद्यालयसँगै सेवा प्रदायक संस्थाबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा पूर्ण रूपमा बन्द छन् ।