close

मालिकाले बनायो कोरोना अस्पताल 

मालिकाले बनायो कोरोना अस्पताल 

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा कोरोना अस्पताल र प्रि-आइसोलेसन सेन्टर स्थापना भएको छ । कोरोना संक्रमितको उपचारका लागि मालिकाले कोरोना अस्पताल र प्रि-आइसोलेसन सेन्टर बनाएको हो ।

 

५ शैयाको कोरोना अस्पतालका साथै १५ शैया क्षमताको प्रि-आइसोलेसन कक्ष निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष खरमाया बिटालुले बताइन् । ‘जनप्रिय माविको आधारभूत तहको भवनका ६ कोठामा कोरोना अस्पताल र प्रि-आइसोलेसन बनाएका हौ,’ उनले भनिन्, ‘त्यहाँ इन्टरनेट जोडेर वाईफाईको समेत व्यवस्था गरेका छौं ।’ 

 

संक्रमितको मन टहलाउन मनोरन्जनका लागि मादललगायत वाद्यवादन सामग्री व्यवस्था गरिने गाउँपालिकाले बताएको छ । बुधबार संक्रमण पुष्टि भएका दरवाङमा कार्यरत एक प्रहरीलाई यही अस्पतालमा राखेर उपचार सुरु गरिएको छ । 


लक्षण नभएका संक्रमितलाई प्रि-आइसोलेसन, सामान्य लक्षण भएकालाई कोरोना अस्पताल र जटिल समस्या देखिए बेनी र पोखराको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको छ । चिकित्सक, स्वास्थ्यकर्मी र संक्रमितको आवासका लागि फरक कोठा बनाइएको र त्यसलाई घेराबार गरिने उपाध्यक्ष बिटालुले बताइन् । 

 

कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० लाख रुपैयाँ बजेट पठाएको थियो । एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी भर्ना प्रक्रिया सुरु भएको प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले जानकारी दिए । 

 

कोरोना महामारी नियन्त्रणका साथै अन्य प्राकृतिक विपद् व्यवस्थापनका लागि मालिकाले चालू आर्थिक वर्षमा १ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कोरोना फैलिन नदिन पालिकाको केन्द्र दरवाङ बजार, गाउँपालिका, बैंक, वित्तीय संस्थाको सेवा बिहीबारदेखि १ साताका लागि बन्द भएको दरवाङका वडाध्यक्ष सन्तोष सुवेदीले बताए । 

 

संक्रमणले नेटो काट्न थालेपछि म्याग्दीका स्थानीय तह कोरोना अस्पताल सञ्चालनमा जुटेका हुन् । मंगला गाउँपालिकाले जिल्लामै अर्मन स्वास्थ्य चौकीको भवनमा ५ शैया क्षमताको कोरोना अस्पताल सञ्चालन गरिसकेको छ । 

 

अन्य स्थानीय तहहरूले पनि अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि सामग्री खरिद, पूर्वाधार निर्माण, व्यवस्थापन र जनशक्ति पदपूर्ति प्रक्रिया सुरु गरेका छन् । अन्नपूर्ण गाउँपालिकाले नारच्याङ, रघुगंगाले भगवती र पाखापानी, धवलागिरिले मुनामा कोरोना अस्पताल बनाउने तयारी गरेका छन् । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अस्पतालका लागि ४ लाख ५० हजार तलब, ५० हजार औषधी र ५ लाखको बेडसहितका सामग्री खरिद गर्न बजेट पठाएको थियो ।