close

कोरोनामुक्त भएर काममा फर्किए कटारीका नगरप्रमुख

कोरोनामुक्त भएर काममा फर्किए कटारीका नगरप्रमुख

Trulli
ADVERTISEMENT

उदयपुर–  उदयपुरको कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ कोरोनालाई जितेर काममा फर्किएका छन् । पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै नगरप्रमुख कोरोनामुक्त भएको कटारी नगरका स्वास्थ्य शाखाप्रमुख सुरेश दाहालले जानकारी दिए ।

 

कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका नगरप्रमुख श्रेष्ठको १४ औं दिनमा रिपोर्ट नेगेटिभ आएको हो । ‘स्थानीय सरकार प्रमुख भएकाले मैले स्वास्थ्य मापदण्ड पालना गर्दै नगरपालिकाभित्रका काम–कारबाही र जनताका दुःख–सुखमा सँगै हिँड्ने क्रममा कोरोना संक्रमण भेटिएको थियो । अब यसलाई पराजित गरेपछि जनताकै काममा जुट्छु’, श्रेष्ठले भने ।

 

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिन थालेपछि नै घरमै बसेको उनले बताए । ‘सुरुमा कोरोना नलाग्दासम्म त यो केही होइन, साधारण रुघाखोकी मात्र हो जस्तो लाग्थ्यो । सामाजिक दूरी कायम गर्दा स्वास्थ्य मापदण्ड पालना गर्दा केही हुन्न भन्ने लागेको थियो । अरुलाई पनि यस्तै गरी सचेत गराउँदै थिएँ । तर, जब आफैंलाई लाग्यो । मेरो सोचाइभन्दा ठीक उल्टो र फरक पाएँ । ज्वरो र रुघाखोकी लाग्यो, जीउ दुख्यो, अनि कमजोरी भयो ।’
 


होमआइसोलेसनमा रहँदा बेसारपानी, गुज्रो पानी, ज्वानो पानी, मह पानीलगायत भिटामिन सी पाइने खाद्य पदार्थ सेवनको उनले जानकारी दिए ।

 

कोरोनालाई सामान्य रूपमा नलिन अनुरोध गर्दै नगरप्रमुख श्रेष्ठले भने, ‘सबै नगरबासीसँग मेरो आग्रह छ, हामी कसैले पनि कोरोनालाई कमजोर रुपमा नठानौं । जसलाई पर्छ, उसलाई मात्र वास्तविकता र पीडा थाहा हुने रहेछ ।’

 

नगरप्रमुख श्रेष्ठसहित कटारी नगरपालिका–३ स्थित ताराघारी रहेको आइसोलेसनमा रहेका संक्रमित भेट्न र उनीहरूको अवस्था बुभ्mन नेपाल प्रहरी, नगर प्रहरीले फलफूल वितरण गरेका थिए । हेलीबाट कटारी आएका नगरप्रमुख श्रेष्ठ नगरपालिकाले ताराघारीमा निर्माण गरेको ३० बेडको आइसोलेसनमा रहेका संक्रमितलाई भेट्न पुगेका थिए ।

 

गत ४ असोजमा नगरप्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रशासन कार्यालयका प्रमुख, कटारी नगर शिक्षाका शिक्षास्रोत व्यक्ति गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

काठमाडौंमा होम आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरेर फर्किएका नगरप्रमुख श्रेष्ठसहित पाँच जना कैलाश हेलिकोप्टरबाट कटारी आएका हुन् ।